विहान ३ बजेसम्म महानगर र उपमहानगरपालिकाको अवस्था के छ ? (मतपरिणाम सहित)
प्रकाशित २०७४ असोज ५ बिहिबार
200
Shares
काठमाडौं । निकै सुस्त गतिमा भईरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् एक महानगर र तीन उपमहानगरपालिकामा मतगणना भईरहेको छ । कूल १ सय ३५ स्थानीय तहमा सुरु भएको मतगणना भईरहेको छ ।
जस मध्ये दुई नम्बर प्रदेशको एकमात्रै महानगरपालिकाको रुपमा रहेको बीरगञ्ज महानगरपालिकामा राजपाले अग्रता कायमै राखेको छ । जसमा राजपाका उम्मेदवार राजेशमान सिंहले कूल २१ सय ४३ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले आफ्ना निकटतम प्रतिस्पर्धी अजय द्विवेदीलाई ३ सय ३८ मतले पछि पारेका छन् । त्यस्तै, उपमेयर तर्फ रम्भा मिश्राले २ हजार १२ मत ल्याएर अगाडि छिन् । उनी काँग्रेसकी शान्ति कार्की भन्दा ३८ मतले अघि छिन् ।
त्यस्तै, जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपाका लालकिशोर साह अगाडि देखिएका छन् । साहले ४७ सय ८० मत ल्याउँदा काँग्रेसका मनोज कुमार साहले १८ सय ५६ मत ल्याएका छन् । उनीहरुबीचको यो मतान्तर २९ सय २४ को हो ।
त्यस्तै, उपमेयर राजपाकी रिताकुमारी मिश्रको ४ हजार ३२ मत आउँदा उनकी निकटतम प्रतिस्पर्धी राजपाकी निर्मल कर्णको २ हजार २१ मत आएको छ । उनीहरुबीचको मतान्तर २ हजार ११को हो ।
त्यस्तैगरी, जीतपुरसिमारा उपमहानगरपालिकाकामा पनि तीब्र प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेका उम्मेदवारले अग्रता हाँसिल गरेको सो उपमहानगरपालिकामा मेयरका उम्मेदवार डा। कृष्ण पौडेलको ४२ सय ७८ मत आउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका राजन पौडेलको ३७ सय ३८ मत आएको छ । उनीहरुबीचको मतान्तर ५ सय ४० रहेको छ । त्यस्तै, उपमेयरमा एमालेकी सरस्वती चौधरी २८ सय १७ मतका साथ अगाडि छिन् । दोस्रोमा नारायणी रायमाझी काँग्रेसकी उम्मेदवार २५ सय ४५ मतका साथ पछाडि छिन् ।
उता कलैया उपमहानगरपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता हाँसिल गरेको छ । रातीसम्मको अपडेट अनुसार फोरमका प्रमोद प्रसाद गुप्ता १६ सय ९७ मतका साथ पहिलो हुँदा नेकपा एमालेका उम्मेदवार विनोद शाह १५ सय ७ मतका साथ दोस्रो स्थानमा छन् । उनीहरुबीचको मतान्तर १ सय ९० को छ । त्यस्तै, उपमेयरमा फोरमकी लक्ष्मी देवी पटेलले १३ सय ८७ मत ल्याउँदा एमालेकी प्रतिमा यादवको १२ सय ८७ मत आएको छ ।