प्रमुख निर्वाचन आयुक्तको जिल्लामा फर्जी मतदाता पक्राउ, एउटा वडामा मतदान स्थगित
प्रकाशित २०७४ असोज २ सोमबार
412
Shares
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवको गृहजिल्ला सप्तरीमा विहानैदेखि शान्तिपूर्ण रुपमा निर्वाचन चलिरहेको छ । यादवले सोमबार विहान आधारभूत मावि राजदेवी राजविराज स्थित मतदान केन्द्रमा गएर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदान गरेका थिए ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्र नारायण देवले वोरिया माविको मतदान केन्द्रमा गएर मतदान गरेका थिए । अहिलेसम्म सप्तरीमा ५० प्रतिशत मत खसिसकेको छ । स्थानीय पत्रकार ओम प्रकाश साहले दिएको जानकारी अनुसार शम्भूनाथ नगरपालिका वडा नं ४ मा पर्ने हियालाल आधारभूत विद्यालयमा नक्कली परिचयपत्र लिएर मतदान गर्न आएको भन्दै फणिन्द्र कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि कारबाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ । अहिलेसम्म जिल्लामा ५० प्रतिशत मत खसेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सोमबार हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ।
साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित थिइन् र शनिबार साँझ घरमै उनको निधन भएको थियो । यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।