arrow

सम्झनामा लौह पुरुष

जनताको मुक्तिका लागी अनवरत संर्घषशिल वीर गणेशमान

logo
तारक प्रतिभा,
प्रकाशित २०७४ असोज १ आइतबार
ganeshman.jpeg

काठमाडौं । सँर्घष र स्वाभिमानका पर्याय गणेशमान सिंहको जन्म वि.सं. १९७२ साल कात्तिक २४ गते काठमाडौँको यट्खामा भएको थियो सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेष्ठ सुपुत्रका रुपमा । गणेशमान नाम राखिए पनि परिवारमा ’हीराकाजी’ भन्ने गरिएको थियो । दरबार स्कूलमा पाँच कक्षामा भर्ना हुनु अघिसम्म हीराकाजी कै नामले परिचित थिए लौह पुरुष गणेशमान सिंह । बाजे हरिमान र बुवा ज्ञानमानको अल्पायुमा निधन भएकाले उहाको लालन(पालन जेठा बाजे सरदार रत्नमानबाट भएको थियो ।

रत्नमान राणाकालको नामी भारदार हुनाले गणेशमान सिंहको बाल्यकाल र यौवन सम्पन्नता र ठाँटबाँठमा बितेको पाईन्छ । दरबार हाइस्कूलमा कक्षा ६ मा पढ्दा राणाका छोराछोरीलाई आदर नगरेका कारण  १९८४ मा विद्यालयबाट निस्कासनमा परेका सिंहले राणाको दरबार अगाडि साइकल कुदाएका कारण सजाय भोग्नुपरेको थियो । आफ्नो स्वाभिमान गिराउन नचाहने प्रवृत्तिले बहिदार पदको सरकारी सेवा त्याग गरी  कोलकाता गएर सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक पास गरेपछि कोलकाता कै विद्यासागर कलेजमा विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह (आईएस्सी)को अध्ययन गर्नुभएको थियो ।

  काठमाडौंको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन उहाको उल्लेखनीय भूमिका रहेको पाईन्छ ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा सिँहले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता हुन । पहिलो जननिर्वा्चित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द सक्रिय रहको गर्विलो  ईतिहाँस छ सिंहको ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।
 
 वि.सं. १९९७ सालमै राष्ट्रिय प्रजापरिषदको सदस्यताबाट नेपालमा राजनीतिक जीवनको सुरूवात भएको र प्रजापरिषद सदस्यता लिएको दुई हप्तापछि अर्थात् र वि.सं. १९९७ असारमा मंगलादेवी सँग विवाह भएको थियो सिंहको । तत्कालीन राणा सरकारले सर्वश्वहरण सहित आजीवन कारावासको दण्ड दिएको थियो । सँगै जेल परेका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइएको थियो।  जन्मजात विद्रोही स्वभावका गणेशमान सिंहलाई राणाको पर्खालले धेरै दिन कैद गर्न सकेन ।

 २००१ साल वैशाख एकको रात भद्रगोल जेलको पर्खाल नाघेर जेलबाट भागेपछि  कृष्णबहादुर प्रधानका नाममा राणाविरोधी अभियान चलाउँदै हिडेपछि राणाशासकहरूद्वारा देश निकाला गरिएको थियो । वि.पि कोईरालासंग मिलेर २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे, जुन पार्टी सुवर्ण शमशेरको प्रजातान्त्रिक कांग्रेससँग मिलेर २००६ सालमा नेपाली काँग्रेस बनेपछि सिंह नेपाली काँग्रेसको संस्थापक नेता बनेका थिए । २००७ सालामा क्रान्तिको तयारीका लागि भूमिगत रूपमा नेपाल आउँदा २००७ साल असोज २७ गते ठोरीको जंगलमा पक्राउ परेसंगै उहालाई शारीरिक यातना दिइएको थियो । मोहन शमशेरको नेतृत्वमा बनेको मन्त्रिमण्डलमा सिंहले उद्योग तथा वाणिज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

२००८ सालमा नेपाली काँग्रेसका नेता मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री भएका सिंहले विश्वेश्वरप्रसादको निर्देशनमा मातृकाप्रसादको मन्त्रिमण्डल त्यागेको पाईन्छ ।  २०१२ सालमा कांग्रेसको वीरगंज अधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिनुभएका सिंह सुवर्ण शमशेरसंग पराजित हुनुभएको थियो ।  २०१४ सालको भद(अवज्ञा आन्दोलनलाई नेतृत्व दिदै २०१५ सालको प्रथम संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँको सांसद् पदमा विजयी भएपश्चात वि.पी. कोइराला नेतृत्वमा गठित सरकारमा निर्माण तथा यातायात मन्त्री बन्नुभएको हो ।

२०१७ साल पुस १ गतेको दुभाग्यपूर्ण घटनापछि सिंह लगातार आठ वर्ष सुन्दरीजल जेलमा थुनिनु परेको थियो । जेलमुक्त भएपछि निरंकुशता विरुद्धको आन्दोलनलाई नेतृत्व दिन भारत प्रवासमा गएका सिंह मेलमिलापको नीति लिएर वि.पी. कोइरालासँग २०३३ सालमा स्वदेश फर्किएकै दिन विमानस्थल मै गिरफ्तार गरि राजकाज मुद्दा चलाईयो र फाँसीको माग गरियो । २०३४ सालमा भारतको पटनामा भएको काङ्ग्रेस सम्मेलनमा पार्टीको नेता निर्वा्चित भएको र  जनमत संग्रहमा निःशर्त सहभागी हुने कुरामा वि.पी. कोइरालासँग मतभेद पनि भएको थियो। २०३९ साल मा वि.पी. कोइरालाको देहावसान पश्चात नेपाली काँग्रेसको सर्वोच्च नेता भएपछि २०४२ सालमा मेलमिलाप नीतिको पुनर्पिरभाषा गरियो र सिंहले सत्याग्रहको नेतृत्व गरपछिे। त्यसबखत पनि जेल सजाय भोग्नुपरेको थियो।

२०४६ साल माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीस्थित सिंह निवासमा आयोजित नेपाली काँग्रेसको सम्मेलनद्वारा जनआन्दोलनको घोषणा गरियो । २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्व सम्हाल्नुहुने सर्वोच्च कमाण्डर सिंहलाई ६ वामपन्थी पार्टीहरूको संयुक्त मोर्चाले समेत साथ दिएको थियो। तर आन्दोलनको क्रममा उहालाई घरमै नजरबन्द गरियो।

गम्भीररूपमा अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमा नै नजरबन्द गरियो। जनआन्दोलनको सफलतास्वरूप दलहरूमाथिको प्रतिबन्ध फुकुवा (२०४५ साल चैत्र २६ गते) भएपछि चैत्र २७, २०४६ साल काठमाडौँको टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई ’फादर अफ डेमोक्रेसी’को रूपमा सम्मानित गरिएको हो । नेपाल तथा विश्वमै मानवाधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मानस्वरूप अमेरिकाबाट पिसरन पुरस्कार(१९९० तथा मानवाधिकार पुरस्कार(१९९३ एवम् संयुक्त राष्ट्र संघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित ’ऊ थान्त शान्ति पुरस्कार’ बाट सम्मान गरिएको थियो ।

 २०४९ सालमा नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुडीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधामन्त्री गिरिजाप्रसाद कोइरालासँग उहाको मतभेद हुन पुग्यो । प्रजातन्त्रको संरक्षणका निम्ति जनजागरण अभियानको २०५१ साल नेपाली काँग्रेसको पोखरा महासमितिको बैठकमा पार्टीको सर्वोच्च नेता कायमै रहेको घोषणा गरियो। २०५३ साल वैशाखको नेपाली काँग्रेसको नवौँ अधिवेशनमा अनुपस्थित रहेपनि उहालाई महाधिवेशनले पार्टी सर्वोच्च नेताको उच्च सम्मान प्रदान गरिनै रह्यो।

स्व. सिंहका दुई छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह तथा तीन छोरी डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य हुन् । काठमाडौं महानगरपालिकाका पूर्व नगरप्रमुख पीएल सिंह भने नेता सिंहका धर्मपुत्र हुन् उनलाई लौह पुरुष, फादर अफ डेमोक्रेसी, सर्वमान्य नेता, वीर गणेशमान, वरिष्ठ प्रजातन्त्रवादी नेता, नेपाली जनक्रान्तिका महान योद्धा, २०४६ सालको ऐतिहासिक जनआन्दोलनका कमाण्डर सर्वोच्च नेता आदि उपनामले पनि चिनिन्छ ।

२०५३ साल भदौ १० गते धर्मपत्नी मंगलादेवी सिंहको निधनको एक बर्षपछि  ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते उहाको निधन भएको थियो । सरकारले तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । तत्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा गरेको यो घोषणा पहिलो हो ।सिंहलाई आन्दोलनको क्रममा समातिएपछि गुद्दद्वारमा लौरो घुसाउने अत्याचार गरिएको थियो भनेर भनिन्छ जसको कारण हरेकदिन शौचक्रियामा बाधा हुने गर्दथ्यो। जनआन्दोलन पश्चात राजा बीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आश्विकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उहालाई लौहपुरुषको संज्ञा र उपाधी पनि दिइएको थियो ।

संर्घष,निष्ठा,स्वाभिमान र त्यागका प्रतिमुर्ति सिहको २० औ स्मृति दिबशले व्यत्तिगत र गुटगत स्र्वाका खातिर गुटका पसलहरु खेल्दै बसेका वर्तमानका उहाका अनुयायीहरुले सिंहको त्याग,निष्ठा र संर्घषलाई आत्मसात गर्दै प्रजातन्त्र,मुलुक जनता र काँग्रेसको सर्वोपरी हितका लागी खुला र उदार हृदयले सोच्दै सो अनुकुलका प्रवृति, चिन्तन,व्यवहार र पद्धतिलाई आत्मसात गर्ने हो भनेमात्र यतार्थमा सिंह र सिंह जस्ता तमाम दिवंगत नेताहरुलाई सम्झनुको सार्थकता हुन्छ ।  संर्घष,निष्ठा,स्वाभिमान र त्यागका प्रतिमुर्ति गणेशमान सिंहप्रति श्रद्धा सम्मान र जयनेपाल ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ