उम्मेदवारलाई जनताहरुको प्रश्न ‘खोई अहिलेसम्म विकास गर्न सकेको ?’
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
465
Shares
पर्सा । पर्साको पोखरीया नगरपालिकाका उम्मेदवारहरुलाई जनताले सार्वजनिक कार्यक्रममा नै विकासका बारेमा प्रश्न गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको अन्तक्रिर्याया कार्यक्रममा उपस्थितहरुले उम्मेदवारलाई विकास नगर्ने र विकासको नारा मात्रै भजाउने बानी अन्त्य गर्न सुझाव दिएका थिए ।
साक्षात्कार कार्यक्रममा सबै उम्मेदवारहरुले आफ्नो विकासे एजेण्डाबारे बताईरहँदा उपस्थित मतदाताहरुले भने यस्तो प्रश्न तेस्याएका थिए । जवाफमा उम्मेदवारहरुले अबको समय विकासको समय रहेको भन्दै आफूले जिते विकासलाई नै प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार रामेश्वर रौनियारले स्मार्ट सिटीको रुपमा समेत उक्त नगरलाई अघि बढाउने आफ्नो योजना सुनाए । रौनियारले थपे, ‘पोखरीयालाई स्मार्ट सिटीको रुपमा विकसित गर्नुपर्छ, भौतिक पूर्वाधारको विकासदेखि लिएर विभिन्न कलकारखानाहरुको समेत विकास गर्नु आजको आवश्यकत्ता हो, म त्यही अनुसार काम गर्नेछु ।’
त्यस्तै, उनले वृद्धा भक्ता पाएका सबै नागरिकहरु आफूहरुका आमाबुवा भएको बताउँदै भने, ‘हिजोको दिनमा काँग्रेसले सानो बजेटबाट बृद्ध भक्ता सुरु गरेको हो । बृद्धहरुको लागि हामी नगरपालिकाको थप बजेट दिन्छौं, बाटोघाटो, बिजुली बत्ति, कृषिमा सिचाईको व्यवस्था, विउ विजनको व्यवस्था, जनता मेरो उम्मेद्धवारीबाट उत्साहित छन् । पार्टीले मलाई पूर्ण रुपमा विश्वास लिएको छ ।’
एमालेका मेयरका उम्मेद्धवार वृजेश चौहानले आफ्नो पार्टीले संशोधन प्रस्तावको पक्षमा भोट नगरेर ठिक गरेको स्पष्ट पारे । उनले भने,‘अब संविधान संशोधनको लफडामा कोही पनि पर्नुहुन्न, मुलुकलाई अब विकास चाहिएको छ, एमालेको एकमात्रै चाहना भनेको विकास र समृद्धि हो ।’ उनले पोखरीया नगरपालिकामा अहिलेसम्म कुनै विकासका कार्यक्रमहरु नआएका र नभएको बताउँदै थपे,‘अहिलेसम्म नभएका विकासका कामहरु म अब गर्छु, गरिब जनताहरुलाई व्यवस्था गर्छु ।’
त्यस्तै संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार प्रधुम्न चौहानले पनि अहिले आफूहरुलाई अधिकार र पहिचान चाहिएको बताए । चौहानले थपे,‘ीवकास विकास, विकास, यहाँ कहाँबाट आउँछ, विकासको कुरा गरेर अहिले केही हुनेवाला छैन, मधेशको हकहित र अधिकार हुनुपर्छ । हामीलाई अधिकार चाहिन्छ ।’ उनले उम्मेवद्धवारीको प्रमुख कारण भनेको नै यहाँको विकास र समृद्धिको लागि रहेको स्पष्ट पारे । त्यस्तै राजपाबाट मेयरका उम्मेद्धवार रहेका निजामुद्धिन समानीले आफूहरुको प्रतिष्पर्धा भनेको नै पहिलो पहिचानको लागि लडाई भएको स्पष्ट पारे ।
यद्धपी उनले आफ्नो पार्टीले पहिलो कडीको चुनाव भएकोले यसलाई आन्दोलनको रुपमै सही सुदपयोग गरेको जिकिर गरे । उनले भने,‘हामीले चुनावलाई सही सदुपयोग गरिरहेका छौं, हामीले जिते यहाँको सही विकास गर्ने म व्यक्तिगत रुपमा प्रण गर्दछु।' साक्षात्कारमा सयौंको संख्यामा उपस्थित् रहेका युवाहरुले मेयरका उम्मेद्धवारहरुलाई प्रश्न गरेका थिए । उनीहरुले राखेको प्रश्नमा युवाहरुलाई कसरी उकास्ने र यहाँको खेलकुद क्षेत्रको विकासको लागि तपाईहरुको योजना के छ भनेर सोधेका थिए ।
केही युवाहरुले विकासको कुरा सुरुदेखि गरिए पनि एमाले, कांग्रेस, माअोवादी कुनै पनि पार्टीले अहिलेसम्म केही नगरेको आरोप लगाएका थिए । एक युवा भन्दै थिए,‘तर अहिलेसम्म विकासको नाममा केही भएको छैन।’