रसुवा । वैशाख १२ को गोरखा भूकम्पपछि पहिरोका कारण बन्द रुसुवागढी केरुङ नाका आजबाट औपचारिकरुपमै संचालन भएको छ । नेपाल र चिनियाँ उच्च पदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा अावागमन आरम्भ गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
भूकम्पले क्षति पुगेको नेपाल र चीन दुबैतर्फको सडक सफा गरी सकिएकाले नाका सञ्चालन गर्न सजिलो भएको हो । चीनले गत २४ गते नै नाका खोल्ने बताएको भए पनि केरुङदेखि रसुवागढी बीचमा भूकम्पले भत्काएको सडक पुनःनिर्माणका क्रममा सडक भत्किएपछि ढिलाई भएको जनाइएको छ ।
केरुङ नाकाबाट १० किलोमिटर टाढा चिनियाँ भू–भागमा तातोपानी र ठोङसामा भूकम्प पछिको वर्षाले ठूलो पहिरो गएको थियो । केरुङ नाकाको सडक चीनले सिमेन्ट ढलान गरी निर्माण गरेको छ ।
नाका खुल्ने भएपछि चीनको व्यापारिक सहर गोन्जाउबाट सामान आयातका लागि निर्यातकर्ता ट्रान्स्पोर्ट कम्पनीहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।
रसुवागढीमा अध्यागमन, भन्सार, क्वारेन्टाइनलगायतका सरकारी कार्यालय नाकाभन्दा डेढ किलोमिटर वर स्थापना गरिएको छ । प्रहरी चौकी टिमुरेमा सारिएको छ । तातोपानीको तुलनामा नाका छोटो र सहज हुने व्यापारीहरूले बताएका छन् ।
नाका सञ्चालनसँगै चिनियाँ सामानको आयात सुरु हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए । भारतले दक्षिणका नाकामा कडाई गरेपछि झन्डै छ महिनादेखि बन्द रहेको रसुवागढी नाका खुलाउन सरकारले पहल सुरु गरेको थियो ।
सो नाका हुँदै स्याउ, रेडिमेट कपडा, व्ल्याङ्केट, घडी, चक्लेट, जुत्ता, चप्पल लगायत सामाग्री नेपाल भित्रने छन् । नेपालबाट बिस्कुट, चाउचाउ, मैदा, खुर्सानी र हस्तकलाका सामान चीनतर्फ निर्यात हुने छन् ।
चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका तातोपानी भूकम्पछि पूर्ण रूपमा बन्द छ । दुवै नाका बन्द भएपछि ६ महिनादेखि व्यवसायीले सामान आयात गर्न पाएनन् । तातोपानीको दुवैतर्फको सडक सञ्चालन भए पनि व्यापार सञ्चालनमा अन्योल कायमै छ । भूकम्प अगावै खासा पुगेका ५ सय कन्टेनर सामान अझै नेपाल भित्रन सकेको छैन ।