arrow

आचासंहिता उल्लघंन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
election-local-2017.jpg

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन गइरहेको निर्वाचनको प्रचारप्रसारका क्रममा विभिन्न राजनीतिक दलका नेताले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि उनीहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । 

निर्वाचनको प्रचारप्रसारका क्रममा धनुषामा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो पार्टीको निर्वाचन चिह्न अंकित गम्छा लगाई सहभागी भएको भन्दै आयोगले सो कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । 

त्यस्तै सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित चुनावी सभामा पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग गर्ने विषय निर्वाचन आचारसंहिता विपरीतको भएको भन्दै आयोगले काँग्रेस सिरहाका सभापतिलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

त्यसैगरी, धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते काँग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्‍यालीमा दलको झण्डा बोकेर बालबालिकालाई प्रचारप्रसारमा खटाइएको भन्दै आयोगले ¥यालीका आयोजकलाई २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न बेग्लाबेग्लै निर्देशन दिएको जनाएको छ । 

यसैबीच आयोगले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचासंहिताविपरीतका कार्य भइरहेको भन्दै आचारसंहिताको पूर्ण पालना गर्न प्रमुख सात राजनीतिक दलसँग आग्रह गरेको छ । 

आयोगले बुधबार काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचारसंहिताको पूर्ण पालना गर्न–गराउन आग्रह गरेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ