arrow

काँग्रेसबाट बोर्डरको कमाण्ड सम्हाल्दै कौशल्यादेवी

logo
अजयबाबु शिवाकोटी ।
प्रकाशित २०७४ भदौ २७ मंगलबार
ishnath-rautahat-kausalyadevi.jpg

रौतहट। तराई मधेशको राजनीतिमा महिलाको सहभागिता कानुनत वाध्यकारी व्यवस्थालाई पालना गर्न मात्र हुन्छ भन्ने मान्यतालाई यो पटक रौतहटको राजनीतिले परिवर्तन गरेको छ। स्थानिय तहको चुनावमा राजनीतिक दलहरुले उमेद्वार बनाउँदा प्रमुख र उपप्रमुख मध्ये एक पुरुष हुँदा एक महिला गर्नुपर्ने वाध्यकारी व्यवस्थाबीच लगभग सबै ठाउँमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उमेद्वार बनाइयो । दुई चरणका स्थानिय चुनावमा केहि औंलामा गन्न सकिने स्थानमा मात्र महिलालाई प्रमुखमा उमेद्वार बनाइयो। कतिपयले जीत्ने स्थानमा उमेद्वारी पाए पनि धेरै स्थानमा प्रमुखमा उमेद्वारी पाएका महिलाहरु पराजीत भए। 

तेस्रो चरणमा हुन लागेको प्रदेश नम्वर २ को चुनावमा पनि महिलाहरु अधिकांश रुपमा पुरुष प्रमुखको उमेद्वार भएका ठाउँमा उपप्रमुखको उमेद्वारको रुपमा खडा भएका छन्। सबै राजनीतिक दलहरुले महिलालाई प्रमुखको रुपमा देख्न चाहेको पाइएन। रौतहटमा भने यसको अपवाद काँग्रेस र माओवादी भएका छन्। काँग्रेसले इशनाथमा र माओवादीले मौलापुरमा मेयरको उमेद्वार महिलालाई उठाएर राजनीतिक सन्देश दिएका छन्। महिला नेतृत्वको विकासमा योगदान दिएका छन्।

विकास र चेतनाको हिसावले पनि देशको मानव विकास सूचकाङकमा पछाडि रहेको रौतहटमा महिलाको नेतृत्व विकास अध्यारोमा टुकी सरह नै हो। यहि रौटहटकै पनि सीमा क्षेत्रमा राजनीतिको वागडोर महिलाको हातमा सुम्पने आँट देखाउनु कुनै पनि दलको लागि कम्तिको चुनौती थिएन। चुनौती समाजको सोच र सीमासँगको नजिकको भूगोलको कारणले पनि थियो। तर काँग्रेसले आँट मात्र गरेन सीमाको नगरपालिका इशनाथमा मेयरको महिला उमेद्वारलाई उठाएर सामाजिक जागरण र राजनीतिक जागरको सन्देश पनि दियो। 

भारतसँग सीमा जोडीएको इशनाथमा यतिखेर नेपाली काँग्रेसबाट मेयरमा उमेद्वार बनेकी कौशल्यादेवी आफ्नो पार्टीबाट उपमेयरमा उमेद्वार बनेका शेख कलाम हुसेनलाई साथमा लिएर चुनाव प्रचार प्रसारमा व्यस्त छिन । घरघरमा पुगेर मत मागिरहेको बेला उनले हामीसँग भनिन, ' जनताको सेवाका लागि मैदानमा आएको छु। काँग्रेसले दिएको जिम्मा पुरा गरेर देखाउने प्रयास गरिरहेको छु।'  लामो राजनीतिक पृष्ठभुमी भएको उनको परिवार स्थानिय तहको चुनाव नभएको यो २० बर्षमा भने चुनावी मैदानमा जान पाएको थिएन। २० बर्षपछि हुन लागेको चुनावमा भने उनी आफै मैदानमा आएकी छिन्।

अनुहारलाई धोतीको सप्कोले छोपेर कुरा गर्ने तराईका महिलाहरुको प्रतिनिधी हुन कौशल्यादेवी। उनी पनि मत माग्न जाँदा टाउकोलाई धोतीले ढाकेरै हिडरहेकी पाइन्छिन। भन्छिन, ' संस्कार त भुल्नु भएन तर अब यसलाई परिस्कृत र परिमार्जित गर्दै जानुपर्छ। टाउकोमा कपडा राख्नु यो ठूला र मान्यजनप्रतिको सम्मान हो।' मत माग्न जाँदा मान्नुपर्ने मतदाता घर घरमा भेटिने कारण पनि आफू धोतीको सप्को टाउकोमा राखेर हिडेको उनले बताइन। उनले यसको फाइदा पनि बताइन। पुरुषहरु गम्छा वोकेर हिडनुहुन्छ। हामीहरु यहि धोतीको सप्कोलाई गर्मीमा पसिना पुछ्न पनि काम चलाउँछौ उनले बताइन। 

घरघरमा चुनावमा मत माग्न जाँदा हौसिएकी कौशल्यादेवी जनता आफ्नो साथमा रहेकोले विजय हुनेमा ढुक्क छिन। आफूलाई मत दिने मतदाताले विकासको माग गरेको पनि उनले सुनाइन। शिक्षा, स्वास्थ्य, नाला, सिंचाईको आवश्यकता उनलाई मतदाताले सुनाउने गर्छन। त्यसोत उनले पनि भोगिरहेको र अनुभव गरिरहेको कुरा हो मतदाताले मागेको कुरा। मेयरमा विजयी भएपछि विकास निर्माण र इशनाथको विकासको लागि गर्नुपर्ने कामको बारेमा गृहकार्य गर्न थालिसकेको उनी बताउँछिन। ' मलाई यहाँ के गर्दा राम्रो हुन्छ भन्ने जानकारी छ। ति कामको बारेमा मैले नोट गर्न थालेको छु। विजयी भएपछि जनताको साथ लिएर ति कामहरु गराउन लागिपर्नेछु ' उनले भनिन। 

जनताको अदालतमा खरो उत्रन आफू मैदानमा आएको बताउने कौशल्यादेवी जनताको सेवा नै आफ्नो ध्येय भएको बताउँछिन। उनलाई पाका उमेरका उपमेयरका उमेद्वार हुसेनले पनि यि काममा पूर्ण रुपमा साथ दिने संकल्प लिएका छन्। उनी भन्छन, ' हामीहरु मिलेर जनताको सेवा गर्न लागिपर्नेछौ। ' विरामी भए उपचार गर्न भारत जानुपर्ने वाध्यता हटाउन आफूहरुको पहल हुने पनि मेयरकी उमेद्वार कौशल्यादेवीले सुनाइन। उनले हामीसँग कुरा टुङग्याउँदै गर्दा भनिन, 'आफ्नो उमेरको वाँकी समय अब जनताकै सेवामा लगाउनेछु। '

कौशल्यादेवीको उमेद्वारीलाई नजिकबाट नियालिरहेका विश्वास कुशवाह भन्छन, 'अब उनको विजयको घोषणा हुन मात्र वाँकी छ। नगर क्षेत्रभित्र उनको उमेद्वारीले अद्भुत माहौल ल्याएको छ। उनको प्रचार प्रसारको अगाडी अरु सबै फिक्का भएका छन्। अरुको प्रचार प्रसार फिक्का भएपछि ट्याक्टरमा डीजे लगाएर हल्लाखल्ला गर्दै हिडेपनि उनको शालिन र भद्र शैलीको प्रचारले सबैलाई मात दिएको छ। ' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ