arrow

काँग्रेस पार्टी कार्यालय सिरहामा कुटाकुट, क्षेत्रीय सभापति सहित दर्जन कार्यकर्ता घाईते

logo
शम्भु यादव,
प्रकाशित २०७४ भदौ २१ बुधबार
ghaete1_(1).jpg

लहान ।  नेपाली काँग्रेसको पार्टी कार्यालय सिरहामा टिकट वितरणमा विवाद चर्कदा बुधवार एकआपसमा कुटाकुट भएको छ । वडा स्तरीय टिकट वितरण गर्न पार्टी कार्यालय सिरहामा बसेको बैठकमा कुटाकुट हुँदा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका हुन् । 

घाइते हुनेमा क्षेत्र नं।३ का सभापति संजय प्रकाश यादव, कार्यालय सचिव रामबाबु यादव, राजेश्वर यादव, बुधन यादव, अरुण यादव, देवनाथ सहनी, मुकेश कुमार यादव, सरदिप कुमार यादव, लटु राई, जगदिश यादव, रामभगत यादव लगायत रहेका छन् । 

घाइतेहरुको उपचार जिल्लामा असम्भव भएपछि अधिकांशलाई रेफर गरिएको छ । जगदिश, मुकेश, सरदिप, बुधन, संजय लगायतलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि बाहिर रेफर गरिएको उपचारमा चिकित्सकहरुले बताएका हुन् ।

सिरहा नगरपालिकामा जिल्ला सचिव उपेन्द्र यादव र मेयरका घोषित उम्मेदवार डा सुभाषचन्द्र यादव पक्षबीच वडा अध्यक्षको उम्मेदवार छनौटमा विवाद चर्केको थियो । उपेन्द्र पक्षलाई ४ र सुभाष पक्षलाई १८ वटा वडामा अध्यक्षको उम्मेदवार बनाउने कुरामा सहमतिमा पुग्न लाग्दा बाहिरबाट आएका केही युवाहरुले छलफल स्थल प्रवेश गरेर कुटाकुट गर्न थालेको नेपाली काँग्रेस निकट श्रोतले बताएको छ । 

प्रत्यक्षदर्शी भोगेन्द्र साहका अनुसार छलफलमा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, सांसद गणेश मण्डल, मोकतार अहमद, जिल्ला सचिव उपेन्द्र, क्षेत्रीय सभापति संजय लगायतको उपस्थिति रहेको थियो । घटनाबारे सहभागी भएकाहरुले कुनै प्रतिकृया दिन चाहेन् । 

‘आन्तरिक छलफल थियो । हामीले पनि केही प्रहरी पठाएका थिए,’जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले भने, ‘जानकारी पाउना साथ थप प्रहरी परिचालन गरेर अवस्था साम्य बनाए ।’ थप घटना हुन नदिन कडा सुरक्षा  नीति अबलम्बन गरिएको उनले जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ