चार निर्वाचन आयुक्त दुई नम्बर प्रदेशमा, दलका नेताहरुलाई फसाद
प्रकाशित २०७४ भदौ १७ शनिबार
559
Shares
काठमाडौं । आसन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको तयारीबारे अनुगमन गर्न भन्दै निर्वाचन आयोगका चार आयुक्त मधेश पुगेका छन् । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचन तयारीको समग्र अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तीलगायतको अनुगमन गर्न आयुक्तको टोली मधेस पुगेको हो ।
चार आयुक्तलाई दुई–दुई जिल्ला भाग पारिएको छ । आयुक्त ईला शर्मा धनुषा र महोत्तरी, नरेन्द्र दाहाल रौतहट र सर्लाही, इश्वरी प्रसाद पौड्याल पर्सा र बाराका तथा सुधीरकुमार शाह सप्तरी र सिरहाका लागि खटिएका छन् ।
आयुक्तहरुले जिल्लाका कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारमाध्यम, नागरिक समाजलगायतका व्यक्तिसँग निर्वाचन तयारीको विषयमा छलफल गर्नेछन् । तराई–मधेसमा हालैका बाढीले क्षति पुगेका सडक, कल्भर्ट र पुल मर्मतको अवस्था, क्षतिग्रस्त मतदानस्थलको अवस्थालाई अध्ययन गरी आयुक्तहरुले आवश्यकताअनुसार सम्बन्धित निकायलाई थप निर्देशन दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । आयुक्तहरु नै अनुगमनमा निस्केपछि आचारसंहिता विवरीत लाग्ने नेताहरुलाई असहज हुने भएको छ ।
निर्वाचनका लागि धनुषामा ५३२, पर्सामा ३४४, बारामा ४५९, महोत्तरीमा ४१५, रौतहटमा ४३४, सप्तरीमा ४६२, सर्लाहीमा ५०१, सिरहामा ४३१ मतदान केन्द्र निर्धारण भइसकेको छ । तेस्रो चरणको यो निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।