राप्रपाले ह्विप उल्लंघन गर्ने १८ सांसदलाई कार्वाही गर्ने
प्रकाशित २०७४ भदौ ६ मंगलबार
175
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कार्वाही गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिएकी थिइन् ।
पार्टी विभाजनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर जबरा समूहको दललाई कानुनी मान्यता दिन सोमबार सर्वोच्च अदालतले गरेको निर्णयका सम्बन्धमा पार्टीले कानून व्यवसायीसँग परामर्श गरी उपचारका लागि अदालतमा जाने निर्णय गरेको छ । काठमाडौँमा चाँडै काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि भएको छ । रासस