पाँचथरको फालेलुङमा पहिरोले ३ जना बगायो, एक जनाको मृत्यु, २ जना सम्पर्क विहिन
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन २७ शुक्रबार
295
Shares
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलाले बगाएर आज विहान ३ जना बेपत्ता बनाएको छ । बेपत्ता हुनेहरुमा स्थानिय बिष्णु राई उनीकी छोरी सुस्मिता र नातिनी रहेको स्थानिय दिपेन्द्र चौहानले जानकारी दिए।
उनकै घर बाट झरेको पहिरोले पावर हाउस रुङन बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएको उनले वताए। अहिले भर्खर मात्रै प्रहरी चौकी जोरपोखरी र भैरवी दल गणको टोली र स्थानियहरु मिलेर बेपत्ताको खोजी कार्य भइरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिए।
यस्तै राईको घर पनि पहिरोले बगाएको छ भने एक हल गोरु पनि पहिरोले वगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नम्बर २ एकतिनको चुक्पादिनमा पहिरोले किचेर एक ब्यक्तिको मृत्यु भएको छ,भने ३ वटा घर पुरेको छ । मृत्यु हुनेमा ८० वर्षिय त्रिलोचन विक रहेका छन् । उनलाई घरमाथि बाट आएको पहिरोले किचेर मृत्यु भएको र घर पनि बगाएको प्रहरीले जनाएको छ ।
यस्तै कमल जवेगुको घर र खेत,तथा निलु बाँनियाको घर बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले बताए । अहिले दुवै घटनास्थलामा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर,प्रहरी चौकी जोरपोखरी,चरिभन्ज्याङको टोली पठाइएको उनले बताए। यस्तै घासँ काँटन गएका दुई ब्यक्तिहरु पनि अहिले सम्म सम्पर्क विहिन रहेको वताइएको छ ।