[अपडेट] भरतपुर १९ को मतगणनामा रेणु दाहालको मतान्तर घट्दै, मात्र ४१८ मतले पछाडि
प्रकाशित २०७४ साउन २१ शनिबार
160
Shares
चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको छ । मेयरकी उम्मेदवार माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसंग मतान्तर कम गर्दै लगेकी छिन् ।
यसअघिको निर्वाचनमा देवी ज्ञवालीले ७८४ मतले अग्रता लिएकामा रेणु दाहालले मतान्तर कम गर्ने क्रममा ४१८ मतले पछाडि छिन् ।
ज्ञवालीको ४१६७२ मत हुँदा ४१२५४ मत रहेको छ । वडा नम्बर १९ मा ज्ञवालीभन्दा दाहाल निकै अगाडि छिन् ।
वडा नम्बर १९ मा दुई हजार मत गणना भइसकेको छ । अब झण्डै १२ सय मत गन्न बाँकी छ ।
समग्रमा जितका लागि दाहालले अझै बढी अन्तरले अगाडि बढ्नु पर्ने देखिएको छ ।
वडा नम्बर २० को मत गन्न बाँकी नै छ ।
विशेष सुरक्षा व्यवस्थाबीच मतगणना भइरहेको छ । सीसीटीभीबाट मतगणनाको निगरानी भइरहेको छ । चार वटा समूह बनाएर मतगणना भइरहेकाले शनिबार अपरान्हसम्म वडा नम्बर १९ को मतपरिणाम आउने जनाइएको छ ।
यसअघि राजनीतिक दलसँगको सहमतिपश्चात् शुक्रबार राति १०ः३० बजेपछि मतगणनास्थल कभर्डहलमा मतगणना सुरु गरिएको थियो ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रबार पुनःमतदानपछि सुरु गरिएको हो ।
मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।