गोरखा। जिल्ला समन्वय समिति गोरखाको सभापति पदमा नेपाली काँग्रेसका उम्मेदवार अशोक गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपसभापतिमा नेकाकै उम्मेदवार जानुका अधिकारी निर्वाचित भइन् । गुरुङ सिरानचोक गाउँपालिका–१ केराबारी र अधिकारी शहीद लखन गाउँपालिका–८ बुंकोटबाट स्थानीय तह निर्वाचनमा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । ११ वटा स्थानीय तह रहेको गोरखामा जिससका लागि २२ जना मतदाता थिए । यीमध्ये १६ मत काँग्रेसको थियो । बाँकी छ मत नेकपा (माओवादी केन्द्र)को थियो ।
नेपाली काँग्रेसका उम्मेदवारबाहेक अरू पार्टीले जिससमा मनोनयन दर्ता गरेका थिएनन् । साउन २० गतेका लागि समन्वय समितिको निर्वाचन गर्ने घोषणा गरिए पनि नेकाका उम्मेदवारबाहेक अरूले मनोनयन दर्ता नगरेपछि आजै गुरुङसहित नौजना समन्वय समितिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचित अधिकृत वसन्तराज पौडेलले बताए।
समितिको सदस्यहरुमा सुलिकोट–५ की उजेलिमाया राना मगर, अजिरकोट–३ की इन्द्रा गुरुङ, गोरखा नगरपालिका–२ की लक्ष्मी थापा मगर, चुमनुब्री गाउँपालिका–२ का छेवाङ ग्याल्जेन लामा, आरुघाट–२ का राजु गुरुङ र अजिरकोट–२ का मानप्रसाद धिताल, सुलिकोट गाउँपालिका–८ का तेजबहादुर बराम निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचितको शपथ साउन २० गते गर्ने तयारी छ । रासस