काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगर १९ नम्बर वडामा पुनः मतदान गर्नु पर्ने फैसला सुनाएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान गराउने फैसला सुनाएको हो ।
न्यायाधीशद्वय मिश्र र भण्डारीको इजलासले मत गणना नियमित गरिनु पर्ने र निर्वाचन आयोगको निर्णय रद्द गरिनु पर्ने भनि परेको रिट निवेदन नै खारेज गरिदिएको छ ।
झण्डै दुई महिना लामो सुनुवाइपछि आइतबार सर्वोच्चले फैसला दियो । मिश्र र भण्डारीको संयुक्त इजलासले मतपत्र च्यातिएको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर हुने गरी फैसला गरेको हो ।
भरतपुर १९ मा मतगणना हुँदाहुँदै मध्यरातमा माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद भएको थियो । विवाद निरुपण हुन नसकेपछि निर्वाचन आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन पछि १९ नम्बर वडामा पुःन मतदान गर्न निर्णय गर्दै निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।
आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो ।
टोलीले अध्ययन गरेर भरतपुर १९ मा ९० वटा मतपत्र च्यातिएको यकिन गरी प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका अधारमा अयोगले भरतपुर १९ मा पुनःमतदान गर्ने निर्णय गरेको हो ।
आयोगको निर्णय रद्द गर्न र पुनः मतदान नभई पुनः मतगणनाको माग गरेर भरतपुर–१९ मा एमालेबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र १९ नम्बर वडाकै मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते रिट दर्ता गरेका थिए ।
गएको जेठ १४ गते राति भरतपुर– १९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले केही मतपत्र च्यातेका थिए । सर्वोच्चले च्यातेका मत्रपत्र समेत झिकाएको थियो ।
मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई पठाएको प्रतिवेदनमा मतगणनास्थल कब्जा भएको र ‘रणभूमितुल्य बनाइएको’ भनिएको थियो ।
१९ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेकै बेला मतपत्र च्यातिएको थियो । २९ वटा वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो । माओवादीहरुले १९ र २० नम्बर वडाको मतगणना मात्रै बाँकि थियो ।
१९ नम्बरमा खसेको २८ सय ६८ मध्ये २२ सय मत गणना भइसकेको थियो । १९ र २० नम्बर वठाको मत गणना थाल्नुअघि एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच जम्मा ७ सय ८४ मतको अन्तर थियो । १९ नम्बर वडाको १८०० मत गणना हुँदा त्यो अन्तर घटेर ७ सय ३३ मा झरेको थियो । आइतबार राति १२ बजेसम्ममा त्यो वडाको थप ४०० मत गणना भएको थियो । परिणाम सार्वजनिक भएको थिएन । पहिलाे चरणमा भएकाे चुनावकाे नतिजा अहिले सम्म नअाउँदा मतदाता निराश भएका छन् ।