काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरको विकासका लागि कुनै कसर बाँकि नराख्ने भन्दै पूर्व र उत्तरी क्षेत्रमा आफ्नै पहलमा विद्युतिकरण भएको र अब हतुवागढी घोरेटार लगायतका क्षेत्रमा पनि चाँडै विजुली बाल्ने उद्घोष गरेका छन् ।उनले मध्यपहाडी लोकमार्ग अन्तर्गतको लेगुवा भोजपुर सडक खण्डमा गुणस्तरीय र व्यवस्थित रुपले कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढाई नियमित रूपमा त्यसको प्रगति विवरण आफूलाई पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएँ ।
भोजपुरे सेवा समाज काठमाडौँले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भोजपुरबाट संखुवासभा हुँदै तराई जोड्ने कनेक्टिभिटीको मुख्य माध्यमको रुपमा रहेको अरुण नदीमाथि लंसुवाघाटको पुल चाँडै निर्माण गर्नका लागि आफू निरन्तर गृहकार्यमा रहेको बताएँ ।उनले समृद्ध भोजपुर नै आफ्नो चाहना रहेकाले यसमा सबैले आआफ्नो ठाउँबाट लागिपर्नु पर्ने धारणा राखे ।
साथै अर्थमन्त्री कार्कीले आफ्नो सम्पूर्ण दृष्टि आर्थिक समृद्धिमा केन्द्रित रहेको बताए ।मन्त्री कार्कीले भने, नेपालमा निर्यातको तुलनामा आयत निकै बढि छ । व्यपार घाटाको मुख्य जड नै यहिँ हो । त्यसैले निर्यात बढाउनका लागि हालसालै सार्वजनिक गरिएको मौद्रिक नीतिले पनि कृषिको उत्पादन र ऊर्जा क्षेत्रको उत्पादन, विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । यसले पनि व्यापार घाटा सन्तुलन गर्न मद्दत गर्छ ।
कार्कीले मुलुकलाई समृद्ध बनाउनका लागि उद्योग कलकारखानाको विकास, रोजगारीमा बृद्धि र ऊर्जा, कुषि र पर्यटन क्षेत्रको विकास नै महत्त्वपूर्ण कुरा रहेकाले सरकारको ध्यान यसैमा केन्द्रित भएको बताएँ । उनले लक्ष्य अनुसार कै आर्थिक बृद्धिदर हासिल गर्न यो सरकार सफल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले असार १० गते भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा तीन बालबालिकाको हत्याको आशंका भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गर्ने बताए।
उक्त घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको भन्दै मन्त्री कार्कीले घटनाको थप सत्य तथ्य पत्ता लगाउनका लागि सिआईबीको विशेष टोली खटनाउन आफूले गृह सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेको बताए । भोजपुरे सेवा समाज काठमाडौँले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्याउलीमा भएको दुखद घटनाले भोजपुरेहरुलाई शोकाकुल बनाएकाले यसको चाँडो सत्य तथ्य अनुसन्धान गर्न निरन्तर कुराकानी भइरहेको जानकारी दिए ।