विराटनगर महानगरमा २९ सदस्यीय कार्यपालिका गठन, काँग्रेसको स्पष्ट बहुमत
प्रकाशित २०७४ साउन ३ मंगलबार
214
Shares
विराटनगर। विराटनगर महानगरपालिकाको २९ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ। नगरसभाको सोमबार सम्पन्न निर्वाचनमा आफ्ना सात सदस्य निर्वाचित भएपछि काँग्रेसलाई स्पष्ट बहुमत पुगेको हो।
कार्यपालिकाको गठनसम्बन्धी व्यवस्थाअनुसार महानगरपालिकाको प्रत्येक वडाबाट निर्वाचित पाँचजना सदस्यमध्येबाट कार्यपालिकाको सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ।
सो नगरकार्यपालिकामा काँग्रेसबाट १८, सङ्घीय समाजवादी फोरमबाट छ, नेकपा (एमाले)बाट तीन, नेकपा (माओवादी केन्द्र)बाट दुईजना रहनेछन्। पाँच महिला पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेकामा काँग्रेसबाट सात र माओवादी केन्द्रबाट एकजना विजयी भएका हुन्।
निर्वाचित महिला सदस्यहरुमा काँग्रेसबाट सुशीला पोखरेल ५३ मत, कमला सुब्बा ५३, बिनादेवी धानुक ५२, शीला श्रेष्ठ ५२ र माओवादी केन्द्रबाट चम्पा खत्रीले ५२ मत प्राप्त गरी विजयी भएका छन्।
त्यसैगरी, दलित र अल्पसंख्यकको तर्फबाट काँग्रेसका अरुण खेतान ५४, गायत्री दास ५४ र राजेश भुजेल ५१ मत प्राप्त गरी विजयी भएका छन्।
महानगरपालिकाको सदस्यका लागि काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। रासस