घोराहीको पहिलो बोर्ड बैठक: सामाजिक सुरक्षा भत्ता टोलटोलबाट वितरण गर्ने
प्रकाशित २०७४ असार २२ बिहिबार
443
Shares
दाङ। घोराही उपमहानगरपालिकाको पहिलो बोर्ड बैठकले सामाजिक सुरक्षा भत्ता टोलटोलमै पुगेर वितरण गर्ने निर्णय गरेको छ। बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै भएको पदभारग्रहण र त्यसपछि बसेको बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई पूर्णरुपमा बैंकिङ प्रणालीमा रुपान्तरण गरी घुम्ती प्रणालीबाट टोलटोलमा वितरण गर्नेसहितका पाँचवटा निर्णय भएको छ।
त्यसैगरी सबै वर्गका फरक क्षमता भएका व्यक्तिको लगत अध्यावधिक गरी सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित भएका व्यक्तिको पहिचान गरी नगरपालिकाको आन्तरिक स्रोतबाट सम्बोधन गर्ने र नगर स्वास्थ्य कार्यक्रममार्फत ८४ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा टोलटोलमा पुर्याउने नगर बोर्ड बैठकले निर्णय गरेको छ।
त्यसैगरी, १९ वटा वडाबाट प्रवाह गरिने सेवा सुविधालाई छिटो छरितो र जनमैत्री बनाउन वडा कार्यालय सञ्चालन हुन बाँकी रहेका वडा १, ३, ८, ११, १३, १५, १६, १७ र १८ मा साउन १० गतेभित्र कार्यालय स्थापना गर्न वडा अध्यक्षले आवश्यक छलफल गरी वडाको केन्द्र तोक्ने प्रस्ताव पेस गर्ने निर्णय भएको छ।
साथै आव २०७४-७५ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको आवश्यक तयारी गर्न र राजस्व परामर्श समिति, स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई आवश्यक सहयोग पुर्याउन कार्यकारी अधिकृत संयोजक रहेको एक कार्यदलसमेत गठन गरिएको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मतदातालाई धन्यवाद दिएको छ। रासस