इटहरी । सुनसरीका दुई नगरपालिका र चार गाउँपालिकाको प्रमुख–उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन् । इनरुवामा प्रमुख र उपप्रमुख काँग्रेसका उम्मेदवार बिजयी भएका छन भने रामधुनीमा प्रमुख काँग्रेस र उपप्रमुख एमालेकी उम्मेदवार बिजयी भएका छन् ।
इनरुवामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार राजन मेहताले १० हजार ९८७ र उपमेयरकी उम्मेदवार जमूना गौतम पोखरेलले १० हजार ९०६ मत प्राप्त गरेकी छन् । मेहताका प्रतिद्दन्दी एमालेका पोष्टकुमार नेपालले नौ हजार ८१३ र उपप्रमुखमा एमालेकै कवितादेवी यादवले नौ हजार १४९ मत ल्याएकी छन् । व्यवस्थापन संकायमा स्नातक गरेका बिजयी मेहता २०४७ सालमा नेपाल विद्यार्थी सङ्घ, भगवती मावि इकाई अध्यक्षका रूपमा आफ्नो राजनीतिक यात्रा थालेका थिए । उनले नेवि सङ्घको जिल्ला सदस्य, सचिव, उप–सभापति, केन्द्रीय सदस्य हुँदै पर्याप्त राजनीतिक अनुभव आर्जन गरेका छन् । मेहताले २०६३ सालदेखि लगातार नेपाली काङ्ग्रेस इनरुवा नगर समितिको नेतृत्व गर्ने अवसर पाएका छन् । उपमेयरमा बिजयी पोखरेल राजनीति–शास्त्रमा स्नातक गरेकी छन् । २०५४ सालमा इनरुवा –३ का मनोहर पोखरेलसँग विवाह बन्धनमा बाँधिएर झापाबाट इनरुवा आएकी गौतमले त्यसयताका ३० वर्ष यहाँको सेरोफेरो, माटो, हावापानी र समाज राम्ररी चिनिएकी छन् ।
रामधुनी नगरपालिकामा काँग्रेसका जयप्रकाश चौधरीले नौ हजार ७०६ मत ल्याएर बिजयी भएका छन् । उनका नकटम प्रतिद्दन्दी एमालेका नन्दकुमार बस्नेतले आठ हजार ८५० ल्याए । उपमेयरमा एमालेकी सविता चौधरी बिजयी भएका छन् । उनले नौ हजार ८१३ मत ल्याइन् । चौधरीको प्रतिद्दन्दी काँग्रेसकी बिजया कट्वालले सात हजार ९२६ मत ल्याइन् । निष्ठावान राजनीतिज्ञको रुपमा छवि बनाएका नेपाली काँग्रेस सुनसरीकै पूराना नेतामा पर्ने चौधरी पञ्चायतकालमा डुम्राहा गाबिसको उपाध्यक्ष भएपनि त्यसयता कुनै लाभको पदमा थिएनन् । निरन्तर जनताको सुखदुःखमा आवाज उठाउँदै आएका छन् । उनलाई गाउँलेसँगै अन्य राजनीतिक दलले समेत इमानदार, निस्ठावान र निष्कलंक नेताको रुपमा चिनिन्छ । उपमेयरमा बिजयी सविताको पारिवारिक पृष्ठभूमि राजनीति नै हो । उनको माइती र घर दुवैपट्टी राजनीतिमा सक्रिय भएकै कारण उनले पनि एमालेमा सक्रिय छन् । उनले शिक्षाण पेशा त्यागेर उपमेयरमा उम्मेदवारी दिएका हुन् । उनलाई गाउँलेले असल नेतृको रुपमा लिन्छन् । मतपरिणाम अनुसार, काँग्रेसले गाउँपालिका अन्तर्गत गढी, देवानगन्ज र हरिनगरामा प्रमुख–उपप्रमुखमा जितेको छ।
गढी गाउँपालिकामा काँग्रेसका श्रीप्रसाद यादवले पाँच हजार ५२ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा राजकुमारी चौधरीले चार हजार ८१९ ल्याएर बिजयी भइन् । श्रीप्रसादका प्रतिद्दन्दी लोकतान्त्रिक फोरम नेपालका वीरनारायण चौधरीले चार हजार ६४ र उपाध्यक्षमा लोकतान्त्रिक फोरमकै लालो थरुनीले तीन हजार ६५५ ल्याइन् । त्यस्तै कोशी गाउँ पालीकामा पनि काग्रेसले जितको छ । प्रमुखमा काग्रेसका एयुव अन्सारील ४०७४ मत ल्याएर जित हासिल गरे भने ३४१२ ल्याएर अनिता देखि यादव विजयी भईन । उनीहरुलाई पछ्याउँने एमालेका अजय कुसियतल २७३२ र पार्वती देखि उराँबले २७२३ मत ल्याएका थिए । अध्यक्षमा बिजयी श्रीप्रसाद २१ बर्षको उमेरमै गाबिसको उपप्रधानपञ्च भएर राजनीति थालेका थिए । उनका बाबुबाजे राजनीतिमै सक्रिय थिए । त्यही भएर उनले पनि राजनीतिलाई अंगाले । उनले बाबुबाजेको बिरासतमा थामि रहेका छन् । उपाध्यक्षमा बिजयी राजकुमारीले अनमी काम गरेको दसक बितिसकेको छ । उनी जागिर छाडेर काँग्रेसबाट उपाध्यक्षमा उम्मेदवार दिई राजनीतिमा लागेकी हुन् ।
हरिनगरामा अध्यक्षमा गफार अनसारीले पाँच हजार ६५२ र उपाध्यक्षमा रिमझिमकुमारी भगतले पाँच हजार ९६ ल्याएर ल्याएर बिजयी भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। गफारका प्रतिद्दन्दी संघीय समाजवादी फोरम नेपालका हेमनारायण मेहताले तीन हजार ६३६ र उपाध्यक्षमा भगतकी प्रतिद्दन्दी एमालेकी सुमित्रादेवी मेहताले दुई हजार ९७६ मत ल्याइन् । गफार लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनले संविधानसभाको दोस्रो निर्वाचनमा सुनसरी क्षेत्र नं. ५ बाट लोकतान्त्रिक फोरम नेपालबाट उम्मेदवार बनी झिनो मतले पराजित भएका थिए । उनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । उपाध्यक्षमा बिजयी भगत भने राजनीतिमा सक्रिय भएको छोटै समय भएको छ।
देवानगन्जमा काँग्रेसका लालीप्रसाद मेहताले अध्यक्षमा तीन हजार ६३० र उपाध्यक्षमा पुनितादेवी यादवले चार हजार २५९ मत ल्याएर बिजयी भइन् । लालीप्रसादका प्रतिद्दन्दी संघीय समाजवादी फोरम नेपालका वेचनप्रसाद मेहताले तीन हजार २७२ मत ल्याए भने पुनितादेवीका प्रतिद्दन्दी लोकतान्त्रिक फोरम नेपालकी महमुदा खातुनले दुई हजार ८९५ ल्याइन् । लाली पनि पुराना काँग्रेसी नेता हुन् ।