अझै सुल्झिएन पुनर्वासको समस्या, निर्वाचन अधिकारी जिम्मेवारी मुक्त
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार २० मंगलबार
353
Shares
पुनर्वास । मतदान केन्द्रमा खसेको मत भन्दा गणनाको परिणाम बढी देखिएपछि सुरुभएको कञ्चनपुर पुनर्वासको तनाव अझै सुल्झिन सकेको छैन । शनिबार भएको झडपपछि देखिएको तनाव मतदान अधिकारीमाथिको कारबाही पछि पनि अझै जारी रहको छ । खसेको मत भन्दा १०४ मत बढी देखिएपछि त्यहाँ शुक्रबारदेखि नै तनाव जारी छ । जिल्ला निर्वाचन कार्यालयले तनाव कम गर्नको लागि भन्दै निर्वाचन अधिकृत रमेश गौतमलाई कारबाही गरेर फिर्ता बोलाए पनि त्यहाँ अझै मत गणना सुरु भएको छैन । कार्यालयले स्थानीय निर्वाचनको मतगणना कार्य पारदर्शी, स्पष्ट र दुरुस्त अभिलेखीकरण गर्न असक्षम रहेको आरोप सहित गौतमलाई जिम्मेवारीबाट हटाइएर सो पदमा तेजराज रेग्मीलाई खटाएको छ ।
यसरी निर्वाचन अधिकारीमाथि कारबाही भएपछि पुनर्वास नपा ६ स्थित निर्वाचन कार्यालयमा अहिले सर्वदलीय बैठक चलिरहेको छ । सो बैठकमा प्रशासन कार्यालयको समेत संलग्नतामा बैठक सुरु भएको छ । शनिबारको जस्तो झडप नहोस् भन्नको लागि आइतबारदेखि नै स्थानीय प्रशासनले कडा सुरक्षा घेरा निर्माण गरेको थियो । मत गणना स्थलदेखि सय मिटर वरिपरी मानव साङ्लो बनाएर पुनर्वास स्थित त्रिभुवनबस्तीको प्रतिभाबजारको मुलबाटोमा प्रवेश निषेध गराएको थियो ।
प्रहरीले कडा सुरक्षाको प्रबन्ध जुटाए पनि मतगणनाको प्रक्रियामा असन्तुष्ट राजनीतिक दलका कार्यकर्ताहरुले ठाउँ–ठाउँमा प्रदर्शन गरि रहेका छन् । यस्तै, सहमतिका लागि आइतबार बसेको सर्वदलीय बैठक साना चार दलले वहिष्कार गरेका थिए । पुनः निर्वाचन हुनु पर्ने भन्दै राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनजागरण नेपाल पार्टीले बैठक वहिस्कार गरेका छन् ।