कञ्चनपुरमा २ स्थानीय तहमा कांग्रेस र एमाले, १ मा माओवादी
शुक्लाफाँटमा काँग्रेस, वेदकोटमा एमाले विजयी
ईश्वर दत्त बडू
प्रकाशित २०७४ असार १९ सोमबार
522
Shares
कञ्चनपुर । कञ्चनपुरमा दोस्रो चरणको मत परिणाम मिश्रित किसिमको आएको छ । ९ वटा स्थानीय तहमध्ये २–२ स्थानीय तहमा नेपाली कांग्रेस र एमालेले विजय गरेको छ भने १ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जीत हात पारेको छ ।
महाकाली पारीको महाकाली नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसले विजय गरेको हो । वेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकामा एमालेले जितेको छ ।
लालझाँडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । अन्य स्थानीय तहमा मत गणना भइरहेको छ ।
यसैबीच जिल्लाको शुक्लाफाँटा नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र वेदकोटमा नेकपा एमाले विजयी भएका छन् । शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार दिलबहादुर ऐर मेयरमा विजयी भएका हुन् ।
शुक्लाफाँटाका निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसका मेयर पदमा उमेदवार दिलबहादुर ऐर विजयी भएका हुन् । उपमेयरमा भने एमालेकी तुलसादेवी हमाल विजयी भएकी छन् ।
निर्वाचन अधिकृत प्रेम कुँवरका अनुसार ऐरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रण बहादुर महरालाई १ हजार २ सय २२ मतअन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन् । ऐरले ६ हजार ४ सय ३२ र महराले ५ हजार ४ सय २९ मत ल्याएका छन् ।
उप मेयरमा एमालेका उम्मेदवार तुलसादेवी हमालले नेपाली काँग्रेसका उम्मेदवार धर्मादेवी बिष्टलाई ८३ मतको अन्तरले हराउदै उप मेयरमा निर्वाचित भएकी हुन् ।
हमालले ५ हजार २ सय ९३ मत र बिष्टले ५ हजार २ सय १० मत प्राप्त गरेका थिए । शुक्लाफाँटामा कुल २४ हजार ७ सय ५७ मतदाता मध्ये १८ हजार ५ सय १८ मत खसेका थिए ।
यसैगरी सोमबार सम्पन्न मत गणना अनुसार वेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका हुन् । वेदकोटका निर्वाचन अधिकृत खेमराज भट्टले बेदकोट प्रमुखमा एमालेका अशोक बहादुर चन्द र उप प्रमुखमा सुशिला सिह निर्वाचित भएको बताए ।
उनका अनुसार चन्दले आफ्ना निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज बोहरालाई ५ सय ७५ मतको अन्तरले हराउदै मेयरमा निर्वाचित भएका हुन् । चन्दले ६ हजार ६ सय ६ र बोहराले ६ हजार ३१ मत ल्याएका थिए ।
उपमेयरमा एमालेकै शुशिला सिहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी जोशीलाई १ हजार ३ सय २८ मतले हराउदै उपमेयरमा निर्वाचित भएकी छिन् ।
सिहले ६ हजार ८ सय ५४ र जोशीले ५ हजार ५ सय २७ मत ल्याएकी थिईन् । वेदकोटमा कुल २६ हजार ३ सय ४६ मतदाता मध्ये १९ हजार ५१ मत खसेका थिए ।