दाङमा काँग्रेस समर्थक चिन्तित, ‘केन्द्रका नेताको ट्याग मात्रै झुड्याइनु दुर्भाग्य’
प्रकाशित २०७४ असार १७ शनिबार
160
Shares
दाङ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको नाम लिए काफी छ भन्ने भनाई गलत सावित हुन लागेको भन्दै दाङका काँग्रेस समर्थकहरु चिन्ता गर्न थालेका छन् ।
दाङको मुख्य आकर्षण रहेका तुलसीपुर र घोराही उपमहानगरमा एमालेले अग्रता लिएपछि काँग्रेस समर्थकहरु चिन्तित भएका हुन् । काँग्रेसका एक चिन्तकले भने, ‘एमालेले तीन पटक कार्यक्रम गरेको थियो । काँग्रेसले घरदैलो समेत गर्न पाएन । खुमबहादुर खड्का, दीपक गिरीको ट्याग मात्रै झुन्याइएकाले घाटा हुने देखिएको छ ।’ यद्यपि, केहीले अहिले २० मत पनि गणना भइनसकेकाले ४० हजार मत गणना नभई अनुमान गर्न हतारो हुने बताएका छन् ।
घोराही उपमहानगरमा ५८ हजार मत खसेको छ भने, तुलसीपुरमा ५७ हजार मत खसेको छ । घोराहीमा एमालेले १५ सय बढीले अग्रता कायम गरेको छ भने, तुलसीपुरमा ६ सय बढीले अग्रता कामय गरेको छ । एमाले नेता शंकर पोखरेलको यसअघि चर्चा नभएपनि दुई उपमहानगरमा अग्रता कायम गरेपछि फेरि चर्चा हुन थालको छ ।
दाङको दुई वटा गाउँपालिकाको मात्रै अन्तिम नतिजा आएको छ । एउटामा काँग्रेस विजयी हुँदा अर्कोमा काँग्रेस–माओवादी गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।