'मधेश आन्दोलन टुङ्गिन्छ कि ? भनेर एमालेले हलो अड्कायो'
प्रकाशित २०७४ असार ११ आइतबार
116
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले संविधानको दीर्घायूमा एमाले बाधक रहेको बताएका छन् । आईतबार मोरङको लेटाङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस शीर्षनेताहरुले एमालेकै कारण राष्ट्रिता खतरामा पारेको आरोप पनि लगाए ।
कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता विमलेन्द्र निधिले एमालेले संविधान संशोधन गर्न सहमति दिएको भए यतिबेला सबै तहमा एकैपटक निर्वाचन भईसक्ने दाबी गरे । उनले संविधानको सर्बस्वीकार्यता तथा दिर्घायूमा एमाले बाधक रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै नेता निधीले जनताको अधिकार घरदैलोमा पुर्याउन एमाले बाधक रहेको आरोप लगाए। मधेशवादी दलको जायज माग संविधान सशोधन गरेर पुरा गर्नुपर्ने भन्दै उनले एमालेले अहिले संविधान संशोधन हुनै नदिने भनेकोले समस्या सिर्जना भएको उनको आरोप थियो ।
'मधेशी, थारू, जनजजाति लगायतका असन्तुष्ट पक्षको माग पूरा गर्न संविधान संशोधन आवश्यक छ । तर एमालेले पहाड-मधेशबीच झगडा निम्त्याएर राष्ट्रियता नै खतरामा पारेको छ।' निधिले भने ।
त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेस मधेश र पहाड जोड्ने पार्टी रहेको भन्दै संविधान संशोधन भएर मधेश आन्दोलन टुङ्गिन्छ कि ? भनेर एमालेले हलो अड्काएको आरोप लगाए। एमाले लोकतन्त्र संघीयता, गणतन्त्र, शान्ति र संविधानको बाधक रहेको आरोप लगाउँदै उनले जहिले पनि एमालेले अड्को मात्रै थाप्ने गरेको आरोप लगाए । उनले १ नं प्रदेशमा काँग्रेस पहिलो पार्टी हुने ठोकुवा पनि गरे । 'विराटनगर वीपी र गिरिजाको जन्मभूमि हो । त्यसैले पनि यहाँ काँग्रेसको विजय सुनिश्चित छ।' उनले भने ।
आइतबार निधिले उर्लाबारीमा आयोजित सभालार्इ सम्बोधन गरेका थिए । पूर्वका विभिन्न कार्यक्रमहरुमा काँग्रेस नेताहरु शेखर कोइराला, महेश आचार्य तथा लेटाङमा मिनेन्द्र रिजाल लगायतले सभाको सम्बोधन गरेका थिए ।