देशको ऐतिहासिक परिवर्तन काँग्रेसकै नेतृत्वमा : प्रकाशशरण
प्रकाशित २०७४ असार ११ आइतबार
181
Shares
अछाम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले मुलुकमा विगत लामो समयदेखि भएका ऐतिहासिक र युगान्तकारी परिवर्तनहरु नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताएका छन् ।
अछामको रामारोशनमा नेपाली काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधनगर्दै उनले भने, विक्रम संवत् २००७ देखि आजका दिनसम्मका नेपालका ठूला एवम् ऐतिहासिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले नै गरेको छ र देशलाई संघीय शासन व्यवस्थामा लैजाने काम पनि उसकै मात्र नेतृत्वमा सम्भव हुने छ ।
केन्द्रीय सदस्य महतले नेपाली काँग्रेसकै कारण मुलुकमा १५ वर्षभन्दा लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन भइरहेको छ र अब हुने प्रदेश र केन्द्रको निर्वाचन पनि काँग्रेसकै नेतृत्वमा सफल र सम्भव हुने औँल्याए ।
नेपाली काँग्रेसले अबहुने प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न सकिने बारेमा पनि सोचिरहेको बताउनुभएको छ । उनले भने, – ‘हामीले प्रदेशको निर्वाचन कसरी गर्ने भन्ने गृहकार्य थालिसकेका छौँ तर यहाँ कतिपय व्यक्तिहरु भने असोज २ को तेस्रो चरणको निर्वाचन हुन्छ कि हुदैन भनेर तर्क गरिरहेका छन् ।’
निर्वाचन अनुगमन समितिका संयोजक रहनुभएका नेता डा.महलते अबका निर्वाचनमात्र होइन नेपालमा लोकतन्त्रको संरक्षण पनि नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव हुने धारणा राखे । नेपाली काँग्रेसले जित्दा मात्र नेपालमा लोकतन्त्रको संरक्षण र सम्वद्र्धन हुन्छ भन्ने कुरा इतिहासबाट पनि सबैले देखि सकेका छन् ।
उनले केन्द्र र प्रदेशको निर्वाचनलाई पनि समयमै सम्पन्न गराई देशलाई संघीयतामा प्रवेश गराउने जस्तो ऐतिहासिक कार्यभार सम्पन्न गर्न पनि काँग्रेसकै नेतृत्व अपरिहार्य भएकोले यो निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो हुने जिकिर गरे ।
महतले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन सबै अछामबासीलाई आग्रह गरे । काँग्रेस सधैँ जनताको पक्षमा रहेको र जनमतको सम्मान र प्रवर्धनबाट मात्र अघि बढ्ने गरेको देशको एक पुरानो र परिपक्व पार्टी भएकोले अबको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन सबैलाई आग्रह गरे ।
देशको सुदुरपश्चिम क्षेत्रको विकासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र समग्र काँग्रेस पार्टीकै अहम भूमिका रहेकोले यसतर्फ न्यायपूर्ण रुपले सोच्न सबै सुदुरपश्चिमबासीलाई अनुरोध गरेका छन् ।
महत केही दिनयतादेखि सुदुरपश्चिका विभिन्न जिल्लामा चुनावी प्रचार प्रसारका क्रममा छन् । उनले शनिबार मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित कन्चनपुर, कैलाली र महेन्द्रनगरका सभालाई सम्बोधन गरे । अछाम जिल्ला नेकपा एमालेका नेता भिम रावलको जिल्ला भएकोले उसले कब्जा जमाउने भनी प्रचार गर्ने गरिएको भएपनि अहिले त्यस्तो नभएको स्थानीय नेताहरुको भनाई छ ।