जति प्रचार गर्नुछ आजै गर्नुस्, रातीदेखि मौन अवधि सुरु हुँदैछ
प्रकाशित २०७४ असार ११ आइतबार
377
Shares
काठमाडौं। स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि शुरु हुने भएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने भन्ने उल्लेख भएकोले यस्तोखालको प्रचार नगर्न आयोगले सरोकारवाला सबैलाई सचेत गराएको छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार–प्रसारका क्रियाकलापहरु नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन पनि आयोग सम्बद्ध सबैसँग आग्रह गरेको छ ।
यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने चेतावनी आयोगले दिएको छ । सोही निर्देशिकाको दफा ७० मा प्रचार–प्रसार गर्न वा शान्ति भङ्ग गर्न निषेध गरिएको छ । सोही दफाको (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ ।