इटहरी। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका क्रममा राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको पक्षमा जनमत आकर्षित गर्न इटहरी, धरान र अन्य सहरमा चुनावीसभा गरेका छन् ।
सबै पार्टीले इटहरीलाई समृद्ध तथा प्रदेश नम्बर १ को राजधानी बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् । एमालेले इटहरीलाई प्रदेश १ को राजधानी बनाउने अभियानसँगै पार्टीको प्रदेश कार्यालय समेत इटहरीमा स्थापना गरिसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वको धेरै सम्भावना बोकेको सहरका रुपमा इटहरीलाई लिनुभएको छ । उहाँले इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउन अब कसैले रोक्न नसक्ने बताए । “ इटहरी जस्तो समृद्ध सहरलाई अझ शसक्त पार्नका लागि एमालेले जित्न जरुरी छ,” उनले भने।
यस्तै नेपाली काँग्रेसले इटहरीको तरहरामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले आफ्नो पार्टीले जिते इटहरीलाई पूर्वकै व्यवस्थित र सुन्दर सहर बनाउने बताए ।
यसैगरी राप्रपाले इटहरीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दैै नेता रामकुमार सुब्बाले इटहरी पूर्वकै सुन्दर, सफा र व्यापारिक सहर भएकाले यसलाई अझ समृद्ध बनाउन राप्रपा लागि परेको बताए ।