खुमबहादुरको गृह जिल्लामा थुप्रै बागी, प्रस्तावक-समर्थकसहित परे फन्दामा
प्रकाशित २०७४ असार १० शनिबार
281
Shares
दाङ । काँग्रेस नेता खुमबहादुर खड्काको गृह जिल्लामा समेत बागी उम्मेदवार कारबाहीमा परेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली काँग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको हो ।
निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली काँग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति, दाङका संयोजक सुरेन्द्रराज पाण्डेले बताए ।
उनले नेपाली काँग्रेसका सबै आधिकारिक उम्मेदवारलाई विजयी बनाउन अधिकतम परिचालित हुनसमेत जिल्ला कार्यसमितिलगायत सम्पूर्ण तहतप्काका काँग्रेसीजनलाई अनुरोध गरे ।
पाण्डेको उपस्थितिमा जिल्ला कार्यसमितिले लमही नगरपालिकामा प्रमुखका बागी उम्मेदबार डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्ष डिल्ली आचार्य, वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदबार भगवती आचार्य, सदस्य भोला हमाल, वडा नम्बर ५ का सदस्य बझौनी चौधरीलाई कारबाही गरिएको हो ।
लमही नगरपालिका–२ मा वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार गुरुदेव चौधरी, राजपुर वडा नम्बर ४ का वडाध्यक्ष हिरालाल यादव, वडा नम्बर ३ का सदस्य गयाप्रसाद यादवलाई पनि कारबाही गरिएको जिल्ला कार्यसमिति सचिव शङ्कर डाँगीले जानकारी दिए ।
शान्तिनगर गाउँपालिकामा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमन्त योगी, उपाध्यक्ष तारा वली र वडा नम्बर २ मा वडाध्यक्ष बागी उम्मेदवारी दिने मेघराज वलीलाई समेत कारबाही गरिएको छ ।
बागी उम्मेदवारका प्रस्तावक र समर्थक वीरेन्द्रबहादुर डाँगी र मानबहादुर वलीलाई समेत कारबाही गरिएको नेपाली काँग्रेस दाङले जनाएको छ । बबई गाउँपालिकामा वडा नम्बर ७ मा बागी उम्मेदवारी दिने महावीर चौधरीलाई पनि कारबाही गरिएको काँग्रेसले जनाएको छ ।
घोराही उपमहानगरपालिका–८ मा निमबहादुर खड्का, बबई नगरपालिका–७ मा सदस्य पदमा उम्मेदवारी दिने तेजबहादुर खत्री र अम्मर बुढालाई समेत कारबाही गरिएको नेपाली काँगेसले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–७ मा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने माधव लामिछाने, तुलसीपुर–३ मा उम्मेदवारी दिने मोहन गुरुङ र तुलसीपुर–१३ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सन्ध्या रिजाल र वडा सदस्य उम्मेदबार लोकेश्वरी अधिकारीलाई समेत कारबाही गरिएको नेपाली दाङ काँग्रेसले जनाएको छ ।
दंगीशरण गाउँपालिका ६ नम्बर वडामा आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने काँग्रेस नेता बालाराम चौधरी पनि पार्टीको फन्दामा परेका छन् ।