अछामका मतदान अधिकृत कार्यक्षेत्र नगई एमाले नेता भेट्नमै मस्त
प्रकाशित २०७४ असार १० शनिबार
781
Shares
अछाम । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय अछामले मतदान अधिकृतको जिम्मेवारी दिएर खटाएका एक मतदान अधिकृत खटिएको क्षेत्रमा नगई सदरमुकाममा एमालेका नेता भेट्नमा व्यस्त छन् ।
जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति मनिराम बुढा शनिबार सम्म मतदान केन्द्रमा नगई सदरमुकाम मंगलसेनमै एमाले उपाध्यक्ष भीम रावल लगायतका नेताहरुसँग भेटघाट तथा फोटो खिचाउनमै व्यस्त देखिन्छन् ।
राष्ट्र सेवक कर्मचारी भएर पनि जिम्मेवारी पाएको काम भन्दा बढी समय नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बुढा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि साँफेबगर नगरपालिका–७ रिडीकोटमा मतदान अधिकृतको रुपमा खटिएका हुन् । सरस्वती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत भएर खटिएका बुढा शनिबार दिउसो सम्म मतदान केन्द्रमा नपुगेको बुझिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार बुढाले शुक्रबार नै मतपेटिका, पतपत्रलगायतका सामाग्री बुझेर लगिसकेका छन् ।
रिडीकोट नेपाली काँग्रेसका पूर्व सांसद एवम् पूर्व संचार राज्यमन्त्री गोबिन्दबहादुर शाह र काँग्रेसका बर्तमान जिल्ला सभापति भरतकुमार स्वारको वडा हो । काँग्रेसको पकड मानिएको वडा भएकाले नै एमाले नेताहरुको बिषेश पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनिराज जस्ता कठ्ठर एमालेलाई मतदान अधिकृत बनाएर पठाएको हल्ला सुन्नमा आएको छ । तुर्माखाँद गाउँपालिकाको भैरवस्थान घर भएका बुढा बिनायक स्रोत केन्द्रमा कार्यरत छन् ।