arrow

अरु सपना मात्रै बाँड्छन्, म स्मार्ट सिटी बनाउँछु

logo
प्रकाशित २०७४ असार ७ बुधबार
kamruddin_rain_new.jpg

नेपालगञ्ज। मध्यपश्चिमको सार्वजनिक चासोको 'केन्द्र' नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि संघीय समाजवादी फोरम नेपालको तर्फबाट कमरुदीन राईन चुनावी मैदानमा छन् । राईनले नेपालगञ्जको स्थानीय समस्याको उठान गर्दै त्यसको ठोस समाधानसहित चुनावी एजेन्डा बनाएका छन् । चुनावी प्रचार प्रसार र घरदैलोमा व्यस्त मेयर पदका उम्मेदबार राईनसँग गरिएको संक्षिप्त कुराकानी ।
नेपालगञ्ज उपहानगरका समस्या के–के हुन ?
–यहाँको मुख्य रुपमा फोहर, ढल, सडक, खानेपानी, अव्यवस्थित बसोबास, शिक्षा, स्वास्थ्य, जनताको दिनचर्याका र किसानको समस्या हो भने, राजनीतिक रुपले विगत लामो समयदेखि कांगे्रस, एमाले, माओवादीले यो नगरलाई भ्रष्टाचारको अखडा बनाएका छन् ।

–उसो भए तपाईसँग समाधानको उपाय के छ ?
फोहरको दीर्घकालीन समाधानलाई पहिचान गरी त्यसको प्रकार छुट्याउने र त्यस अनुसारको व्यवस्थापन गर्ने हो । फोहोरलाई पनि व्यवस्थापन गर्ने हो भने नगरको आम्दानीको स्रोत बनाउन सकिन्छ । यसमा दृढ इच्छा शक्ति र कुशल व्यवस्थापकको कमी छ, जनताले मेरो विजयसँगै उपलब्धि प्राप्त गर्नेछन् ।
ढल व्यवस्थापन
नेपालगञ्जका जनताले अहिलेसम्म वर्षायाममा सधैँ सास्ती खेप्दै आएका छन् । ठूलो पानी परेका बेला सहर पूरै डुबानमा पर्ने गरेको छ । ढलको सही ढंगले मर्मत र व्यवस्थापन गर्न नसक्दा यो समस्या जनताले भोग्दै आउनु भएको छ । ढल व्यवस्थापनका लागि वर्षेनी बजेट निकासा हुने गरेको छ । तर, ठूला दलका नेताहरुले कर्मचारीहरुको मिलेमतोमा सरकारी बजेट झ्वाम पार्ने गरेका छन् । काँग्रेस, एमाले र माओवादी विकास विरोधी पार्टी भईसकेका छन् । यिनीहरुले विकासको कुरा मात्रै गर्छन् तर काम गर्दैनन् । विगत २० वर्षदेखि यिनीहरुले विकासको कुरा मात्रै गरिरहेका छन् । अब यही चुनावमार्फत जनताले यस्ता पार्टीलाई भोट नदिएर डण्डित गर्नेछन् ।
सडक
यस नगरलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ । यसका लागि सडक पूर्वाधार चाहिन्छ । सडकको विकास गर्न जरुरी छ । अर्काे कुरो सहरलाई परिक्रमा गर्ने चक्रपथ बनाउने योजना पनि छ । अनि नाकाहुँदै सहरबाट बाहिरिने मालबाहक गाडीहरुलाई बाइपास बाटो बनाएर यो सहरलाई अनावश्यक भिडभाडबाट मुक्ति दिलाउनु पर्ने छ । यसैगरी सडक बत्ति लगाएर सहरलाई उज्यालो बनाउनुपर्ने छ ।
खानेपानी
यहाँ पानीको स्रोत त छ । तर, पिउनयोग्य छैन । स्वच्छ पिउनेपानीले जनताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने र नगरका जनताको स्वास्थ्यसँग पनि खानेपानीको विषय जोडिने भएकाले यस क्षेत्रमा पनि जोडतोडका साथ गर्नुपर्ने हुन्छ ।
शिक्षा र स्वास्थ्य
यहाँका दलित तथा गरिब परिवारका बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस भनेर पनि उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याएरै अभियानको रुपमा घरदैलो गएर बालवालिकालाई गुणस्तरीय शिक्षाको प्रतिवद्धत जनाएको छु । यो सामाजिक जीवनको महत्पूर्ण कार्य भएकाले मेरो यसमा विशेष रुची पनि छ ।
अव्यवस्थित बसोबास
हिजो आज बसाई सराई गरी आउने क्रम तीब्र भएको छ । यो सँगै नगर क्षेत्रमा नयाँनयाँ घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण कार्य पनि तीब्र गतिमा अघि बढिरहेको छ । अहिले जथाभावी रुपमा भवन निर्माणको अनुमति दिइदा सहरको सुन्दरता बिग्रिदै गएको छ । अब सफा, सुन्दर हरियाली सहर निर्माणका लागि पनि काम गर्नुपर्ने छ ।
भ्रष्टाचार
भ्रष्टाचार यहाँको मुख्य समस्या हो । यो नगरमा पहिला पनि ठूलो बजेट थियो । यो सबै यहाँका ठूला दलहरुले आपसी मिलेमतोमा खाने गरेका छन् । उनीहरुले भ्रष्टाचारलाई संस्थागत नै गरेका छन् । त्यसैले नगरबासीले आजको दिनमा सास्ती खेप्नु परेको छ । अबको मेरो पहिलो राजनीतिक एजेण्डा नै भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउने हो ।
कृषक
यस उपमहानगरपालिको आधाभागमा कृषकहरुको बसोवास छ । यो क्षेत्र भनेको देशको जीडीपीलाई योगदान दिने क्षेत्र हो । यसकारण मैले कृषि क्षेत्रको आधुनिकीकरणमा ध्यान दिएको छु । कृषि क्षेत्रको विकास हुँदा जनताको आर्थिक उन्नति हुन्छ, आर्थिक हैसित सुध्रिन्छ । यस क्षेत्रमा बजारको अभाव छैन । कृषकले उत्पादन गरेका चिजहरु यहीँको बजारमा खपत हुन्छ । कृषि क्षेत्रको विकास गर्न सके यहाँका युवाहरुलाई विदेश पलायन हुनबाट पनि रोक्न सकिन्छ । मैले प्रत्येक कृषकको घरमा सिंचाइ विजुलीको व्यवस्था गर्ने योजना बनाएको छु । प्रत्येक दश कठ्ठा बराबर एक सिंचाइ डिप बोरिङ निःशुल्क व्यवस्था गर्नेछु ।
सबै जनताले भोट दिनेछन्
यस क्षेत्रमा धार्मिक रुपमा मुस्लिम र हिन्दु समुदाय मिश्रित बसोबास छ । वर्षौदेखि यी समुदाय आपसमा सामाजिक एकताका साथ बसोबास गर्दै आएका छन् । हाम्रो पार्टीले सबै जाति भाषा, धर्म र समुदायको एकताको पक्षमा संघर्ष गरिरहेकाले यहाँका जनताले मलाई भोट दिनेमा पूर्ण विश्वस्त छु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ