राजपा नेतालाई उपेन्द्र यादवको चुनौती– कि आरोप पुष्टी गर, कि माफी माग
प्रकाशित २०७४ असार ५ सोमबार
735
Shares
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएका छन् । राजपाका नेताको अभिव्यक्तिपछि अध्यक्ष यादवले त्यसको खण्डन गर्दै आरोप प्रमाणित गर्न राजपालाई कडा चुनौती दिएका हुन् ।
अध्यक्ष यादवले भनेका छन्, ‘जसले यस्तो घटिया आरोप लगाएको छ, उसले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गरोस्, तर प्रमाण दिन सक्दैन भने मधेशी जनतासँग सार्वजनिक रुपमा माफी मागोस् ।’ राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको अध्यक्ष यादवको प्रतिटिप्पणी छ ।
राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको आरोप लगाउँदै अध्यक्ष यादवले राजपा नेता मनीष सुमन आफैले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरे । उनले भने,– ‘अरुमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’ छ भने पेश गरे हुन्छ ।
राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकाले अरुको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवको प्रतिक्रिया छ । ‘यस्ता वाहियात अभिव्यक्तिले के प्रमाणित हुन्छ, भने नेताहरु आन्दोलनबाट विचलित भइसकेका छन् । राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेबार हर्कत मधेशका लागि घातक छ’–अध्यक्ष यादवले भने ।
अध्यक्ष यादवले राजपा नेताहरुलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरेका छन् । राजपा नेता मनिश सुमनले सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारसँग पैसा लिएर चुनावमा गएको आरोप लगाए ।
सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएका हुन्, भने । संयम गुमाउँदै नेता सुमनले भने, ‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, परेको खण्डमा देखाउन सक्छु ।’ यही अभिव्यक्तिको खण्डन गर्दै समाजवादी फोरम यादवले प्रमाण पेश गर्न नभए सार्वजनिक माफी माग्न भनेका हुन् ।