बुटवलमा काँग्रेस–माओवादीको संयुक्त घोषणा–सभा: काँग्रेस वचनमा पक्का, एमाले बेइमान –वर्षमान पुन
प्रकाशित २०७४ असार ४ आइतबार
161
Shares
बुटवल । आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरमा तालमेल गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बुटवलमा संयुक्त घोषणा–सभा गरेका छन् ।
घोषणा–सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका पाँच नं. प्रदेश ईञ्चार्ज तथा पूर्व मन्त्री बर्षमान पुन लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
दुई पार्टीले चुनावी तालमेल गरि मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट जगतबहादुर पोखरेललाई अगाडि सारेका छन् ।
घोषणा–सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले दुई पार्टी बीचको गठबन्धनले मुलुकमा नयाँ शक्ति निर्माण भएको र यहि शक्तिले मुलुकलाई नयाँ निकास दिने पनि दावी गरे ।
‘एमालेबाट सरकार चल्ला तर मुलुक चल्दैन भन्ने हामीले निश्कर्ष निकाल्यौं ।’ उनले भने–‘शान्ति र परिवर्तनलाई संस्थागत गर्नकालागि र मुलुकलाई समृद्ध बनाउनकालागि गठबन्धन गरिएको हो ।’
शान्ति र परिवर्तनकालागि नेपाली काँग्रेस र माओवादी मिल्न आवश्यक रहेकाले शान्ति संम्झौतादेखि सुरु भएको मेलमिलाप निरन्तर कायम रहेने उनले विश्वास व्यक्त गरे ।
उनले भने–‘नेपालका वास्तविक शक्तिहरु, जनतालाई मालिक मान्ने शक्तिहरुको गठबन्धन भएको छ, अधिक मतले विजय गराउनु होस, मेरो आग्रह छ ।’
उनले रुपन्देहीलाई नेपालकै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने नेपाली काँग्रेसको सपना रहेकाले उक्त सपनालाई साकार पार्नकालागि पनि मुलुकका वास्तविक दुई शक्तिहरुबीच गठबन्धन भएकाले यो गठबन्धनले जितेको खण्डमा रुपन्देही नेपालकै आर्थिक केन्द्र पनि बन्ने र पाँच नम्बर प्रदेशको केन्द्र पनि बन्ने उनले दावी गरे ।
नेता खाँणले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग विस्तार गर्ने सपना दुवै पार्टीका नेताहरुले देखेकाले उक्त सपना साकार पार्न गठबन्धन सरकार र स्थानीय तहका प्रतिनिधिहरु लागिपर्ने पनि बताए ।
नेता खाँणले उक्त रेलमार्गको बिकासले लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई मुलुककै आर्थिक बिकासको केन्द्रका रुपमा बिकास गर्न समेत सकिने बताए ।
त्यस्तैगरी नेकपा माओवादी केन्द्रका पाँच नं. प्रदेश ईञ्चार्ज तथा पूर्व मन्त्री वर्षमान पुनले शान्ति, स्थायित्व र समृद्धिको आवश्यकताले काँग्रेस र माओवादी बीच तालमेल गरिएको प्रष्याए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली काँग्रेसको राम्रो छवि भएको र माओवादीको प्रगतिशिल छवी भएकाले यसले पनि यी दुई पार्टी बिचको गठबन्धनले मुलुकलाई समृद्धिको यात्रमा अंगाडी बढाउन सहज हुने उनले विश्वास व्यक्त गरे ।
एमाले बचनमा पक्का नभएकै उसको त्यहि व्यबहारका कारण गठबन्धन तोड्नु परेको पुनले बताए । नेपाली काँग्रेसमा सुरुदेखि नै आफूले बोलेको बचनमा पक्का देखिएर सरकारमा मात्रै नभएर स्थानीय तहको निर्वाचनमा समेत चुनावी तालमेल गरिएको प्रष्ट पारे ।
पूर्व मन्त्री पुनले काँग्रेस माओवादी बिचको तालमेलले एमालेले असुरक्षित महसुस गरेको बताउँदै दुई पार्टी बिचको तालमेलले अत्तालिएर एमालेले अनेक प्रोपोगान्डा गर्न सुरु गरेको बताए ।
एमाले अध्यक्ष केपी ओलीतिर लक्षित गर्दै उनले प्रधानमन्त्री भईसकेका मान्छेलाई राजनेता भएर बस्न सुझाव दिए । उनले ती नेतालाई जिब्रो सम्हाल्न र आफ्नो हैसियत हेरेर बोल्न पनि आग्रह गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्य, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष लक्ष्मी कोईराला, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले बुटवलको समग्र बिकासका लागि मेयरमा नेपाली काँग्रेसको रुख चिन्ह र उपमेयर पदमा नेकपा माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्न आग्रह गरेका थिए ।