प्रमुख चार दलको बैठक : चुनाव सार्ने कुरा प्रष्ट गर्न सकेनन् देउवाले
भन्न–भन्न खोजे जस्तो, तर के हो के ? प्रष्ट भएन : ओली
प्रकाशित २०७४ जेठ ३० मंगलबार
563
Shares
काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएको प्रस्ताव घुमाउरो भाषामा प्रमुख चार दलको बैठकमा समेत उठेको छ ।
काँग्रेस कार्यसम्पादन समितिको बैठकमा २ र ५ नम्बर प्रदेशको चुनाव सार्नुपर्ने प्रस्ताव आएको बताइएको छ । सोही प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले चार दलको बैठकमा राखेको बताइँदै छ ।
यद्यपि, बैठकमा सहभागि एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रस्ताव नै आएको भन्न मिल्दैन, उहाँहरुको कुरा घुमाउरो थियो, प्रस्ट थिएन,– भने ।
नेम्बाङले अगाडि भने, ‘अफ्ठ्यारो छ । राजपा चुनावमा ल्याउनु पर्छ । भन्नु भयो । कुरा प्रष्ट थिएन ।’ आफुहरुले १४ असारको चुनाव कुनै पनि हालतमा सर्नु हुँदैन भनेर कडाईका साथ कुरा राखेको नेम्बाङको भनाई छ ।
सत्ताधारी नेताहरुको भनाई उदृत गर्दै नेता नेम्बाङले भने, ‘उहाँहरुले एक पटक राजपाको कुरा सुनौँ । वुधबार फेरि सबै बसौँ भन्नु भो । हामीले हामी किन बस्नु र ? तपाईहरु कुरा बुझ्नुस् भन्यौँ । तर, उहाँहरुले तपाईहरु बस्नै पर्छ भन्नु भो । हामीले चुनाव नसार्ने शर्तमा कुरा सुन्ने हो भने ठिक छ भन्यौँ ।’
सिंहदरबारस्थित सभामुखको ओनसरी घर्तीमगरको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैडकमा प्रधानमन्त्री देउवाले घुमाउरो रुपमा चुनाव सार्ने प्रस्ताव राखको बैठकमा सहभागि अर्का एक नेताले बताएका छन् ।
प्रधानमन्त्रीले यदि यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सारेका बताइएको छ । तर, नेम्बाङले कुरा प्रष्ट थिएन अफ्ठ्यारो छ मात्रै भन्नु भएको बताए ।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी ओलीले सञ्चारकर्मीहरुसँग भन्न खोजे जस्तो तर, भन्न सक्नु भएन भने । उनले थपे, ‘उहाँहरुले भन्न भन्न खोज्ने तर, भन्न नसक्ने जस्तो देखियो । सार्न खोजेको हो कि चुनाव नै नगर्न खोजेको हो प्रष्ट भएन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अब असार १४ मै चुनाव हुनु पर्ने बताए । एमालेले मधेसमा स्थानीय तह थप्न नहुने अडान राख्दै आएको छ ।