एमालेको प्रचार गर्दै हिड्ने वडा सचिव तानिए, डाँगी पठाइए
प्रकाशित २०७४ जेठ २४ बुधबार
437
Shares
तुलसीपुर । तुलसीपुर उप–महानगरपालिका वडा नं. ११ को वडा सचिवमा लालबहादुर डाँगीलाई खटाइएको छ । वडा सचिव मानबहादुर रावतलाई भने तुलसीपुर उप–महानगरपालिकामा तानिएको छ । रावतले निर्वाचनको समयमा नेकपा एमालेको प्रचार प्रशारमा दिनहुँ जसो आँफै सहभागि बनेको र अन्य राजनीतिक दलहरुको विरुद्धमा बोल्दै हिडेको भन्ने गुनासोको आधारमा उनलाई निर्वाचन अवधिभर तुलसीपुर उप–महानगरपालिकाको कार्यालयमा तानिएको कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
उनको स्थानमा उप–महानगरपालिकाको प्रशासन फाँटमा रहेका डाँगीलाई पठाइएको छ । यसैबीच तुलसीपुरमा तानिएका रावतलाई यहाँ समाज कल्यान फाँटमा काम गर्ने गरि व्यवस्था मिलाइएको कार्यकारी अधिकृत केसीले बताए । २५ जेठदेखि मानवहादुर रावत उरहरी स्थित वडा नं. ११ को वडा सचिवको कार्यालय छोडेर तुलसीपुरस्थित उप–महानगरपालिकाको कार्यालयमा हाजिर हुन आउने कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
यसअघि दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले रावत राजनीतिक पार्टीको काममा खटेको खबर सार्वजनिक भएपछि उनलाई यसअघि नै सचेत तुल्याएका थिए । उनले पार्टीको प्रचार प्रशारमा लाग्ने भए सचिव पदबाट राजीनामा दिन रावतलाई सुझाएका थिए ।
नोट ः रातो कपडा लगाउने मानवहादुर रावत र सेता सर्ट लगाएको हाल खटाइएका डाँगी । सरुवा पछि उनले आफ्नो फेसवुक वालमा यस्तो लेखेका छन् ।