तेह्रथुम । चुनावको मिति नजिकिँदै गर्दा केही दलले मात्र नगर तथा गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामध्ये निकै चासो र चर्चामा रहेको आठराई गाउँपालिकामा नेकपा (एमाले)ले उम्मेदवार घोषणा गरेको छ । सो गाउँपालिका क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले समेत जिल्लाकै ठूलो स्थानीय तह भएकाले पनि सबैको चासो र चर्चामा छ ।
तत्कालीन इवा गाविससहित सात गाविस मिलाएर घोषणा गरिएको आठराई गाउँपालिकामा सरकारले जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेटसमेत विनियोजन गरेकाले यस गाउँपालिकामा दलहरुले कस्ता उम्मेदवार बनाउँलान् ? कस्तो नेतृत्वलाई मतदाताले चुन्लान ? भन्ने चासो छ । सो गाउँपालिकामा विभिन्न दलले उम्मेदवार छनोट गरिरहेका बेला एमालेले भने अध्यक्ष पदमा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।
लिम्बू राजनीतिमा विष्णुविक्रम कन्दङ्वा नामले चिनिन्छन् । हालको आठराई गाउँपालिका–७ साविकको थोक्लुङ गाविस स्थायी घर भएका उनि एमाले तेह्रथुमका नेता हुन् । गत वर्षको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदमा पराजित लिम्बूले यसअघि जिल्ला कमिटीमा दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् ।
उपाध्यक्ष पदमा एमालेले रुपादेवी कन्दङ्वालाई उम्मेदवार बनाएको छ । कन्दङ्वा एमाले तेह्रथुमकी महिला नेत्री हुन् । पार्टीका विभिन्न पदमा क्रियाशील भएर काम गरिसकेको उनि जिल्ला सहकारी सङ्घको समेत अध्यक्ष हुन् । कन्दङ्वाले लामो समयदेखि महिला अधिकारको क्षेत्रमा समेत योगदान पुर्याउँदै आएकी छन् ।
वडाध्यक्षका लागि आठराई गाउँपालिका–१, सक्रान्तिमा कमलध्वज माबोहाङ, वडा नं २, खाम्लालुङमा गजेन्द्र चोङवाङ, वडा नं ३, ह्वाकुमा भीष्मप्रसाद डाँगी, वडा नं ४, इवामा श्यामकुमार भट्टराई, वडा नं ५, छातेढुङ्गामा विष्णुप्रसाद ओली, वडा नं ६, चुहानडाँडामा उमेश कन्दङवा र वडा नं ७ थोक्लुङमा रोहित कन्दङवा एमालेबाट उम्मेदवार बनेका छन् ।
सो गाउँपालिकामा १२ हजार ५६७ मतदाता छन् । यसको केन्द्र सक्रान्ति बजार हो । सक्रान्ति बजारमा एमाले, काँग्रेस, माओवादी केन्द्रलगायत दलले प्रचारप्रसार कार्यालयसमेत स्थापना गरिसकेका छन् ।
पर्याप्त समय भएकाले पनि उम्मेदवार छनोट र घोषणाका लागि दलहरुले हतारो नगरेको बताइएको छ । उम्मेदवारको टुङ्गो लागेका स्थानीय तहमा उम्मेदवारले भोट माग्दै घरदैलो समेत थालेका छन् । महिना दिन अघिदेखि नै उम्मेदवारबिनै भोट माग्दै आएका दलहरुले केही उम्मेदवार टुङ्गो लागेपछि औपचारिक रुपमै प्रचारप्रसार थालेका हुन् ।
उम्मेदवारको फोटो टाँसेर बनाइएका प्रचारका सामग्री सामाजिक सञ्जालमा छाएका छन् भने सार्वजनिक रुपमै समेत प्रचार थालिएको छ । बजारका घर, गाउँका घर सबैतिर पार्टीका चुनाव चिह्न अङ्कित झन्डा टाँगिएका छन् । दलहरुले क्रमशः प्रचारप्रसारका गतिविधिलाई तीव्रता दिएका हुन् ।
स्थानीय तहको निर्वाचन भएकाले मतदातामा कुन दलको को उम्मेदवार छ ? भनेर अत्यधिक चासो छ । तर अहिलेसम्म पनि दलहरुले आफ्नो आधिकारिक उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । जसकारण मतदाता अन्योलमा छन् ।
सर्वसाधारण मतदातामा राजनीतिक दलका उम्मेदवारमा मात्र होइन, ती दलले के कस्ता विकासका एजेन्डा अघि सारेका छन् भन्नेमा पनि अत्यधिक चासो छ । तर अहिलेसम्म कुनै पनि दलले घोषणापत्रसमेत सार्वजनिक गरेका छैनन् । रासस