काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बन्ने प्रक्रियामा काँग्रेसका नेताहरुको असन्तुष्टी प्रकट भएको छ। सरकारमा पठाउने मन्त्रीहरुको नामावली टुङग्याउने विषयमा पनि देउवाले आफ्नो नजिकका नेताहरुसँग मात्र छलफल गरि पार्टीभित्रका अन्य महत्वपूर्ण पक्षहरुलाई वेवास्ता गरिएकोमा उनीहरुको असन्तुष्टी देखिएको हो।
सरकार गठनका प्रक्रियामा देउवाले नेता विमलेन्द्र निधीसँग मात्र छलफल गरि नाम टुङग्याएकोमा नेताहरुले असन्तुष्टी जनाएका हुन्। पार्टीका वरिष्ठ र अन्य नेताहरुलाई व्यवास्ताको शैलीमा सम्पर्क समेत नगरि नाम फाइनल गरेपछि उनीहरुले आफ्नो असन्तुष्टी जनाएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुलाई वेवास्ता गरिएमा सपथ ग्रहण समारोहमा समते नआउने चेतावनी देउवालाई दिएका थिए। मन्त्रीमण्डल गठनका क्रममा पहिलो चरणमा एकजनाको मात्र नाम पठाउन देउवाले पौडेललाई भनेका थिए।
अर्थमन्त्रीको दावी गर्दै आएको पौडेल पक्षले अर्थमन्त्रालय नपाउने भएपछि त्यसै पनि रुष्ट रहेको थियो। अर्थमन्त्रालयमा पठाउन महेश आचार्यलाई पौडेल पक्षले तयार गरेको थियो। तर देउवाले आफ्ना खास विश्वासपात्र ज्ञानेन्द्र कार्कीलाई अर्थमन्त्रालयको वागडोर सम्हाल्न दिएपछि उनीहरु त्यसमा रुष्ट भएका थिए। एकातिर अर्थ मन्त्रालय पनि नपाउने अर्कातिर एक मात्र मन्त्रालय पाउनेगरि मन्त्रीको नाम पठाउन भनेपछि पौडेल देउवासँग रन्किएका थिए। उनले दुईजना नभए आफूले सपथमा नआउने जनाएपछि देउवाले उनलाई दुईजनाको नाम दिन भनेका थिए।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सभापति देउवाले ढीलो गरि नाम पठाउन भनेकोले मन्त्रीमण्डलमा सहभागि हुनेको नाम पठाउन नसकेको बताए। प्रधानमन्त्रीको सपथमा आएका पौडेलले भने, ' मलाई करिव १ वजेतिर नाम पठाउन भनेपछि तत्काल पठाउन सम्भव भएन। सल्लाह गरे पठाउँछौ। '
देउवाले नाम पठाउन भनेपछि पौडेल समुह छलफलमा बसेको थियो । संसदीय दलमा पौडेल समुहका नेताहरु छलफलमा जुटेपनि उनीहरु निष्कर्षमा पुग्न सकेनन्। पौडेल समुहमा को मन्त्रीमण्डलमा जाने भन्नेमा एकमत हुन नसक्दा मन्त्रीमण्डल विस्तारमा नाम आउन नसकेको बताइएको छ।
काँग्रेस नेता पूर्ण बहादुर खड्काले बरिष्ठ नेता पौडेललाई विहान ११ वजेतिरै देउवाले जानकारी दिएपनि उहाँहरुको बीचमा कसलाई सरकारमा पठाउने भन्नेमा सहमति बन्न नसक्दा बुधवार नाम आउन नसकेको आफ्नो जानकारीमा रहेको बताए।
अर्का काँग्रेस नेता डा शेखर कोइरालाले पनि सरकार गठनको प्रक्रियामा आफ्नो असन्तुष्टी जनाए। उनले देउवा एक्लै हिड्न खोजेको झै देखिएको बताए। सरकार गठनको प्रक्रियामा वरिष्ठ नेता पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायतका केहि नेताहरुलाई सहभागि गराएको भए राम्रो हुने बताए। मन्त्री बनेकाहरुको बारेमा उनले टिप्पणी गरेनन्। ' यिनै साथीहरुको नाम पनि सबै सिनियरहरुलाई राखेर यसो गर्न थाले भनेको भए कस्ले विरोध गर्थ्यो र ?' कोइरालाले भने।