arrow

जनआन्दोलनका घाइते कसैलाई सिंढी चढायो कसैलाई माग्ने बनायो

logo
लक्ष्मीप्रसाद सापकोटा 
प्रकाशित २०७४ जेठ २४ बुधबार
janaaandolan.jpg

फलेबास । विसं २०४६ को जनआन्दोलनमा परेर आफ्नो दाहिने खुट्टा गुमाएका घाइते सरकारबाट उचित सहयोग नपाएपछि वर्षौंदेखि सहयोग माग्दै हिँड्न बाध्य भएका छन् । 

रुकुमको सोलावाङका ४८ वर्षीया तारा खड्का हातमुख जोड्नकै लागि भिख माग्न बाध्य भएका हुन् । 

आन्दोलनका क्रममा काठमाडौँ नारायणहिटी दरबारअगाडि राजा महेन्द्रको सालिक भत्काउन खोज्दा उनलाई प्रहरीको गोली लागेको थियो । उनीसँगैका आठ व्यक्तिले गोली लागेपछि ज्यान गुमाएका थिए । 

खड्काको दाहिने गोडामा तीन गोली लागेको थियो । घाइते भएर पनि कडा सजाय भोग्न बाध्य खड्काले अहिले पर्वतलगायत विभिन्न स्थानमा भिख माग्दै हिँड्न बाध्य भएको बताए । 

खड्काको सोही क्रममा जिब्रोसमेत काटिएको थियो । 

उपचारका लागि उनलाई अमेरिकाको पाइलट हस्पिटलमा दुई वर्षसम्म राखेपनि उहाँको स्वास्थ्य अवस्थामा सामान्य सुधार मात्र भएपछि घर फर्किएका थिए । 

उपचारका लागि राज्यले रु ५० लाख खर्चेको थियो भने उनले काठमाडौँमा रहेको आफ्नो घर रु ४० लाखमा बिक्री गरेका थिए । 

काठमाडौँमा भएको एउटा घर बिक्रीपछि खड्कासँग अहिले सम्पत्तिको नाममा केही छैन । 

सानैमा आमाबुबा गुमाएका उनले बिहे गरेकी श्रीमती पनि २०४५ सालमा गुमाए । 

उनकी श्रीमतीको २०४५ सालको भूकम्पमा परी निधन भएको थियो । 

अहिले कृत्रिम गोडाको सहायताले उनी हिँडडुल गर्छन् । सामान्य हिँड्डुल गर्न सकेपनि काम गर्नसक्ने शारीरिक अवस्था उनको छैन । 

उनले मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आफू सधै
 पीडित नै बनिरहेको दुखेसो गरे । 

“जतिसुकै परिवर्तन आएपनि हामीजस्ता व्यक्तिको मूल्याङ्कन राज्य र सरकारले गर्न सकेनन्”, उनले गहभरि आँसु पार्दै भने, “अहिले भिख माग्नुपर्ने अवस्थामा हिँडिरहेको छु ।” 

खड्काले पूर्वप्रधानमन्त्री मरिचमान सिंहको सहयोगमा आरआर क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरे । 

आन्दोलनकै कारण र पीडाकै कारण खड्काको मानसिक अवस्थासमेत बिग्रदै गएको छ । 

उनले औषधि सेवन गर्ने पैसासमेत आफूसँग नभएको गुनासो गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ