भरतपुर काण्ड : न्यायाधीश चोलेन्द्रशम्शेरले तीन दिन रोके आयोगको निर्णय
प्रकाशित २०७४ जेठ २२ सोमबार
898
Shares
काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगर १९ नम्बर वडमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई तीन दिन यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश चोलेन्द्रशम्सेर राणाको इजलाशले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ भनेको हो । भरतपुर महानगरको मतगणना विवादबीच निर्वाचन आयोगले शनिबार मात्रै १९ नम्बर वडामा सबै मतपत्र अवैध भन्दै पुनः निर्वाचन गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।
भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेरको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्न भनेको छ । त्यतिवेलासम्म निर्णयलाई जहाको त्यही राख्न भनिएको छ ।
भरतपुर महानगर १९ नम्बर वडाको पतपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेबाट वडा सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गरेका हुन् ।
निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न र च्यातिएका ९० मतपत्र बदर मानेर अन्य मतपत्र मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका थिए ।
अदालतको निर्णय पर्खिने भन्दै विपक्षी एमालेले आइतबारको संसद बैठक मंगलबारका सार्न लगाएको छ । एमालेले संसद खोल्न नमानेपछि आइतबार हुने भनिएको नयाँ प्रधानमन्त्री चयन धकेलिएको छ ।
गएको १४ जेठ मध्यरातमा १९ नम्बर वडाको मत गणना भइरहेको समयमा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोग आफैले खटाएको टोलीको अध्ययन प्रतिवेदन र निर्वाचन ऐनलाई टेकेर पुनःमतदान गराउन भनेपछि विवाद थप लम्बिएको हो ।