arrow

कालो कोट छोडेर उपप्रमुखको मैदानमा वकिल चन्द्रा

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
cpnuml.jpeg

काँकडभिट्टा  । कालो कोटमा सजिएर अदालतमा वकालत गर्दै लामो अवधि बिताउनु भएकी भद्रपुरकी अधिवक्ता चन्द्रा श्रेष्ठ यतिबेला सूर्य चिन्हमा भोट माग्दै जनताको घर आँगन चहारिरहेकी छन् ।

कानुन व्यवसायसँगै राजनीति रोज्दै आएकी श्रेष्ठ नेकपा एमालेको तर्फबाट भद्रपुरको उपप्रमुख पदका उम्मेदवार हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनी पछिल्लो समय अनेमसङ्घमार्फत एमालेको राजनीतिक मोर्चामा सशक्त उपस्थिति देखाउँदै आएकी छन् ।

काममा लगनशील, इमान्दर र पार्टीको बफादार कार्यकर्ता मानिने श्रेष्ठलाई पार्टीले स्थानीय तहको नगरको उपप्रमुखको टिकट दिएको छ जुन पद जितेमा उनले नगरको न्यायपालिकाको प्रमुखको जिम्मेवारी नै सम्हाल्ने छिन् ।

विगतमा पार्टीभन्दामाथि उठेर भद्रपुर नगरवासीको सशक्तीकरण र उत्थानका लागि धेरै काम गरेको उनी बताउँछिन् । “मेरो जित्ने आधार नै हिजोको कामको मूल्याङ्कन हो, मैले कहिल्यै कसैलाई पनि जाति र पार्टीको आधारमा विभेद गरिनँ र गर्दिनँ पनि” – उनले भनेकी छन् ।

झापाकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा आदिवासी जनजाति र अल्पसङ्ख्यकको बाहुल्यता छ । उनीहरुमाथि विभेद, हिंसा अत्यधिकरुपमा हुने गरेको श्रेष्ठको बुझाइ छ । उनले वकालती पेसामा हुँदासमेत उनीहरुमाथि भएको हिंसा विरुद्ध लडेर न्याय दिलाएको स्मरण सुनाउँदै भनिन् – “मेरो उम्मेदवारी नै समाजमा हेपिएर उत्पीडित भएकाको उत्थान गर्नका लागि हो ।”

अझै पनि महिला बाहिर निस्किनु प¥यो भने श्रीमान्सँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको बताउँदै उनी भन्छिन् – “महिलालाई सीप सिकाएर उद्यमशील बनाउँछु । सहुलियतमा ऋणको व्यवस्था गरेर स्वरोजगार बनाउने मेरो लक्ष्य छ ।”

हिंसामा परेका महिलाको अझै पनि न्यायमा पहुँच नपुगेको हुँदा आफूले जित्ने बित्तिकै नगरपालिका र वडामा ‘हेल्प डेक्स’ राखेर उनीहरुको न्यायमा पहुँच पुर्‍याउने सोच उनको सोच छ । जिल्लामै कानुन व्यवसायीबाट उनी एक्लो उम्मेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ