भरतपुर काण्ड : एमालेले सर्वोच्चमा हाल्यो रिट, संवैधानिक आयोगमाथि उठ्यो प्रश्न
प्रकाशित २०७४ जेठ २१ आइतबार
175
Shares
काठमाडौ । प्रमुख विपक्षी एमालेले चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न र च्यातिएको बाहेकका मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
एमालेबाट १९ नम्बर वडाका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दिउँसो रिट दर्ता गराएका हुन् ।
विक र पाण्डेको रिटमा भरतपुर १९ को पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ । त्यस्तै रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषण परमादेश जारी गर्न भनिएको छ ।
मतगणना गर्न परमादेशको माग गरी परेको रिटको पेशी सोमबारलाई तोकिएको छ, भने निर्वाचन आयोगको निर्णय गैरकानुनी, स्थापित मूल्य मान्यता विपरीत, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षको योजनाका आधारमा तयार पारिएको जिकिर गरिएको छ ।
गएको जेठ १४ गते आइतबार राती मतगणनाका क्रममा मतपत्र च्यात्ने गतिविधि भएपछि आयोगले मत गणनास्थल कब्जा भएको ठहर गर्दै शनिबार भरतपुर १९ नम्बर वडामा पुनःमतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय लगत्तै एमालेले आफुहरु सर्वोच्च जाने निर्णय गरेको थियो । एमाले सर्वोच्च पुगेसँगै भरतपुरको मतगणना प्रकरणले अर्को मोड लिएको छ । जसले संवैधानिक आयोगको निर्णयमाथि नै प्रश्न उठ्ने छ ।
यसअघि सर्वोच्चले अर्को संवैधानिक आयोग अख्तियारमाथि प्रश्न उठाएको थियो । अख्तियार प्रमुखलाई अदालतले नै पदमुक्त गरेको थियो ।