निर्वाचित जनप्रतिनिधिको घोषणा : 'भुकम्पपीडितलाई नक्सा पास निशुल्क'
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ जेठ १७ बुधबार
591
Shares
स्याङ्जा । स्याङ्जाका ११ ओटा स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट विजयी बनेका ९७ वडाका ५ सय ७ जना जनप्रतिनिधिहरुले पदबहाली गरेका हुन्।
५ नगरपालिका ६ गाँउपालिका रहेको स्याङ्जामा नगर प्रमुख, उपप्रमुख र गाँउपालिका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्ष लगायत सदस्यहरुले पदबहाली गरी जिम्मेवारी सम्हालेका छन् । जिल्लाको मध्य भागमा रहेको वालिङ नगरपालिकामा एक कार्यक्रमका विच नगर प्रमुख दिलिपप्रताप खाँण र उपप्रमुख कल्पना तिवारीले पदभार ग्रहण गरेका छन् । प्रमुख र उपप्रमुख सहित १४ ओटाका वडा अध्यक्ष सहित सदस्यहरुले एकै साथ पदभार ग्रहण गरे ।
वडा अध्यक्ष र सदस्यहरुलाई प्रमुख र उपप्रमुखले पदभारग्रहण गराएका छन् । पदभार ग्रहण गरेपनि जनताको काम भने असार १ गतेदेखि गर्ने निर्देशन वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले सबै वडा अध्यक्षहरुलाई दिएका छन् । नगरपालिकामा पदभार ग्रहण सगै दुई ओटा निर्णय पनि गरिएको छ ।
वालिङ नगरपालिका भित्र भुकम्पबाट क्षती पुगेर रातो कार्ड पाएका पिडितलाई घरको नक्सा पास निशुल्क गर्ने निर्णय गरिएको छ भने अर्को वालिङमा खानेपानी, सडक र सिंचाईका लागि प्राविधिक टोली खटाएर योजनाबद्ध तवरले पहिलो चरणमा विकास गर्ने निर्णय भएको नगरपालिकाका कार्यकारी अधिकृत भिमकान्त पौडेलले बताए ।
पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख दिलिपप्रताप खाँणले मुलुककै नमुना नगर बनाउन आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै वडा अध्यक्षहरुले वडाका समस्याको पहिचान गरी योजना बनाउन खाँणले वडा अध्यक्षहरुलाई आग्रह गरेका छन् । उपप्रमुख कल्पना तिवारीले हरेक वडामा महिलाहरुको समस्या बुझन वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरेकी छन् ।
महिलालाई सामाजिक काममा अगाडी ल्याउन नगरपालिकाले कस्तो भुमिका खेल्नुपर्ने र महिलाहरुको चाहाना के मा छन्ने विषयको खोजी गरी महिला उत्थानमा लाग्न सबैलाई सुझाएकी छन् । नगरप्रमुख र उपप्रमुख सहितवडा अध्यक्षहरुको पदभारग्रहणमा स्थानीयहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।