भरतपुरको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्ध
प्रकाशित २०७४ जेठ १७ बुधबार
639
Shares
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो।
सो घटनाका बारेमा निर्वाचन आयोगले तीन सदस्यीय समिति गठन गरी छलफलसमेत गरिराखेको छ। सदनको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद आ– आफ्ना आसनबाट उठी सदनको कारबाहीलाई अवरोध गरेका थिए। यही बीचमा सोही पार्टीका सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना प्रक्रिया तत्काल सुचारु गरी नतिजा सार्वजानिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए।
उनले भने “निर्वाचनमा हार जित हुन्छ, पराजयको पराकाष्ठले मतपत्र च्यात्ने जुन हर्कत भयो, यो गलत कार्य हो, यसले लोकतन्त्र र जनमतलाई सम्मान गर्दैन, जुन परिणाम आए पनि सबैले स्वीकार गर्नुपर्छ र तुरुन्त मतगणना प्रक्रिया सुचारु गर्नुपर्छ।”
सांसद पाण्डेले मतगणना कार्य शीध्र सुचारु नगरे दोस्रो चरणको निर्वाचन हुन नसक्ने चेतावनी दिँदै मतपत्र च्यात्नेमाथि कारबाही गर्न मागसमेत गरे। सांसद पाण्डेको भनाइ सकेपछि पनि प्रतिपक्षी दलका सांसद उठेकाले सभामुख ओनसरी घर्तीले भोलिसम्मका लागि बैठक स्थगित गरिन्।
उनले आफूले प्रतिपक्षी दलले उठान गरेका मागलाई सरकारको ध्यानाकर्षण भएको जानकारी गराउँदै सांसदलाई आसनग्रहण गर्न आग्रह गरकिथिन्। सदनको अर्को बैठक यही जेठ १८ गते बिहीबार दिनको १ बजे बस्नेछ।
यसअधि सदन सुचारु गर्ने विषयमा कार्य परामर्श समितिको बैठक समेत बसेको थियो। सभामुख घर्तीको अध्यक्षतामा बसेको बैठकमा दलबीचमा कुरा मिल्न सकेका थिएन। सदनको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४-७५ को राजस्व र व्ययको वार्षिक अनुमानको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो। रासस