स्थानीय तह निर्वाचन फेरि पछि धकेलियो, असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रकाशित २०७४ जेठ १७ बुधबार
719
Shares
काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते बुधबार हुने भएको छ । यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।
मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मङ्गलबार छलफलसमेत गरेका थिए ।
“दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ लाई सारेर असार ९ गते भनिएको थियो, असार ९ गते पनि मुसलमान समुदायको रमजान पर्वको अन्तिम दिन पर्ने भएकाले र मधेसवादी दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने उद्देश्यले निर्वाचन सारिएको हो”, उपप्रधानमन्त्री निधिले भने । रासस