arrow

मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन, निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७४ जेठ १७ बुधबार
nuwakot-district.png

नुवाकोट । मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित भए । 

उनीहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए । दलिततर्फ राममाँया सुनार र अल्पसङ्ख्यकतर्फ लालबहादुर घले निर्विरोध भए । 

महिला, दलित र अल्पङ्ख्यकको सहभागितासँगै मेघाङमा गाउँकार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ ।

कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य पुगेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए । 

यस्तै, तादी गाउँपालिकाको सदस्यमा काँग्रेसबाट बिमला विश्वकर्मा, अलैँची थापा, सम्झना तामाङ र नेकपा माओवादी केन्द्रबाट यशोदा कट्टेल निर्विरोध निर्वाचित भए । 

दलिततर्फ दीपक परियार र अल्पसङ्ख्यकतर्फ साबित्रा बराम चयन भए । 

निर्वाचन अधिकृत चन्द्रकान्त खनालका अनुसार तादी गाउँपालिकाको कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य निर्वाचित भएसँगै पूर्णता पाएको छ । 

जिल्लाको बाँकी स्थानीय तहमा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । 

कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान रहेको छ । 

नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच महिला र दलित तथा अल्पसङ्ख्यक गरी तीनजनाको प्रतिनिधित्व हुने कानुनी व्यवस्था छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ