सभापति देउवाको जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्याउन सकेन
प्रकाशित २०७४ जेठ १६ मंगलबार
135
Shares
डडेल्धुरा। डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ। लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा काँगे्रसलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो।
काँग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन्। छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन। दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्।
निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो। कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख-उपप्रमुख, गाउँपालिका प्रमुख-उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उमेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको छनोट गरेका भएपनि नेपाली काँग्रेसको भने अन्योल रहेको छ। सबैभन्दा ठूलो दल एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसले पर्शुराम नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको भएपनि अन्य स्थानीय प्रतिनिधिको टुङ्गो लगाउन भने सकेको छैन।
बीस वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसभित्र धेरैजना उम्मेदवारका आकांक्षी भएका कारण उम्मेदवारी छनोटमा ढिलाइ भएको काँग्रेस नेताको भनाइ रहेको छ।
एमाले र माओवादी केन्द्र डडेल्धुरामा पनि उम्मेदवारका आकांक्षीबीच विवाद रहेकाले सबै वडामा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन।
डडेल्धुरामा सबैभन्दा पहिले सबै वडा तथा गाउँपालिकामा नभए पनि सहमति जुटेका स्थानमा राष्ट्रिय जनमोर्चाले सञ्चारकर्मी समक्ष उम्मेदवारको नामावली र कार्यक्रम सार्वजनिक गरेको छ। अन्य कुनै पनि पार्टीले उम्मेदवारको नामावली सार्वजनिक गरेका छैनन्। डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। रासस