arrow

मतगणनाअघिमात्र काँग्रेस पहिलो, मतगणनापछि चाँगुनारायणमा एमाले पहिलो

नेमकिपा जेनतेन वडा ९ मा अस्तित्व जोगाउँदै

logo
प्रकाशित २०७४ जेठ १६ मंगलबार
changunarayan_municipal.png

भक्तपुर । चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरी पराजित भए । 

त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राधा (सरु) बानियाँले छ हजार ४७६ मत प्राप्त गरी पराजित भइन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले पाँच हजार १९८ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ५४५ मत र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले चार हजार ४४२ मत र उपप्रमुख रीता काफ्लेले चार हजार २२ मत मात्रै प्राप्त गरे । 

त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कुल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो । 

यस नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्र्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ । 

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । 

वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए । 

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे । 

वडा नं ९ मा नेमकिपाको समूह विजयी 

त्यसैगरी, चाँगुनारायण नगरपालिका–९ मा भने नेपाल मजदुर किसान पार्टीको समूह विजयी भएको छ । वडा अध्यक्षमा एक हजार ५१ मत प्राप्त गरी गणेश त्यात विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास ढुङ्गानाले ९९५ मत प्राप्त गरे । 

त्यसैगरी, महिला सदस्यमा नेमकिपाकै कमला गिरी भारतीले एक हजार ५२ मत, दलित महिला सदस्य सुमित्रा दर्जीले एक हजार ४४ मत, सदस्य विद्यापति थापाले ९८३ मत र कृष्णराम वासुकलाले एक हजार ३२ मत प्राप्त गरी विजयी भए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ