रगेली (मोरङ्ग)।निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागी मोरङ्गको विभिन्न स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी आईतबार बाट काम थालेको छ। आयोगले मोरङ्गको रंगेली र सुनवर्षि नगरपालीकामा आफ्नो कार्यालय स्थापना गरी काम शुरु गरेको हो।
१७ स्थानीय तह रहेको मोरङ्ग जिल्लामा यस अधि नै अधिकृतको कार्यालय स्थापना गरी काम थालिएता पनि पहिलो चरणमा ३ प्रदेशमा मात्र निर्वाचन हुने भएपछि वैशाख १२ गते जिल्लाका सबै कार्यालय बन्द गरिएका थिए। दोस्रो चरणको निर्वाचन नजिकिए संगैं आयोगले पुनः कार्यालय स्थापना गरी निर्वाचन अधिकृत समेत स्थानिय तहमा खटाएको छ।
आयोगले रंगेलीमा पुण्य प्रसाद पाठक र सुनवर्षि नगरपालीकामा टंक प्रसाद पन्थीलाई निर्वाचन अधिकृत जिम्मा दिएको छ। आयोगले स्थानीय नागरिक समाज, प्रशासन, प्रहरी तथा पत्रकारको रोहबरमा पुनः कार्यालय स्थापना गरेको थियो। कार्यालय स्थापना संगै निर्वाचन आयोगको निर्देशन बमोजिम उम्मेदवारको मनोनयन दर्ता सहित मतदाता परिचय पत्र वितरण लगायत नमुना मतदान गराई स्थानिय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको रंगेली नगरपालीकाका निर्वाचन अधिकृत पुण्य प्रसाद पाठकले बताए।