झापा एमालेद्वारा नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन
प्रकाशित २०७४ जेठ १० बुधबार
160
Shares
काँकडभिट्टा। नेकपा एमालेले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ। सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो।
दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा विष्णु बराल, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिकाको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भुर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले चयन भएका छन्।
त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाललाई चयन गरिएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीलाई चयन गरिएको छ।
बाँकी रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको टुङ्गो लगाउनका लागि नेकपा एमालेको सचिवालयको बैठक इटहरीमा जारी छ। आजै बेलुकासम्म प्रदेश नम्बर १ का उम्मेदवारको नाम सार्वजनिक गरिने नेकपा एमालेको उच्च स्रोतले जनाएको छ। रासस