आकाङ्क्षी बढेपछि कैलाली काँग्रेसलाई उम्मेदवार छनौटमा समस्या
प्रकाशित २०७४ जेठ १० बुधबार
433
Shares
धनगढी। दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनौटमा सकस परेको छ।
उम्मेदवारका आकाङ्क्षी बढी देखिएपछि छनौटमा समस्या देखिएपनि आज सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुङ्गो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए। चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिका सहितका अधिकांश स्थानीय तहमा उठाउने उम्मेदवारको टुङ्गो अझै लगाउन सकेको छैन।
यद्यपि उम्मेदवारको टुङ्गो नलाग्दै काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा लगायतका दलले मतदातालाई आफ्नो पक्षमा रिझाउन चुनावी घरदैलो सभा, अन्तरक्रियाजस्ता कार्यक्रम गर्दै आएका छन्।
नेकपा (एमाले)ले भने धनगढी उपमहानगरपालिकाको प्रमुखमा दुर्गाप्रसाद जोशी र उपप्रमुखमा रुक्मिणी देवकोटालाई उम्मेदवार बनाउने निर्णय तीन दिनअघि मात्रै गरेको छ। नेकपा (माओवादी केन्द्र)ले पनि उपमहानगरको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय वैशाखमा नै गरिसकेको थियो।
यी दुई पार्टीले धनगढी उपमहानगरसहित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका उम्मेदवारको टुङ्गो लगाइसकेको भएपनि टुङगो लगाइएका कतिपय ठाउँमा अझै कुरा नमिलेको बताइन्छ।
कैलालीमा एक उपमहानगर (धनगढी), छ नगरपालिका र छ गाउँपालिका समेत १३ वटा स्थानीय तह रहेका छन्। यीमध्ये धनगढी उपमहानगरपालिकाको चुनावलाई सबैले बढी महत्व र चासोका साथ हेरिरहेका छन्। ७ नं प्रदेशको एक मात्र उपमहानगरका साथै मुख्य व्यापारिक केन्द्र भएको र पछिल्लो संविधान सभाको चुनावमा काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र रहेकाले पनि यो उपमहानगरको चुनावलाई बढी चासोका साथ हेर्ने गरिएको हो।
दोश्रो चरणमा निर्वाचन हुने भनेपछि सुरुको अवस्थामा केही सेलाएको यहाँको चुनावी सरगर्मी पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै बढेको छ। रासस