arrow

पोखरा महानगर : फर्जी मतको जिम्मा निर्वाचन आयोगलाई, सर्वदलीय बैठकबाट पार लागेन

मतगणना नियमित गर्न भन्दै एमाले कार्यकर्ताको चर्को नाराबाजी

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
Pokhara_Lekhnath_Mahanagarpalika.png

कास्की । फर्जी मत भेटिएपछि रोकिएको पोखरा लेखनाथ महानगरको मत गणना अझै सुरु हुन सकेको छैन ।

तीन पटक सर्वदलीय बैठक बस्दा पनि सहमति हुन नसकेपछि मत गणना सुरु हुन नसकेको हो । पछिल्लो सर्वदलीय बैठकले निर्वाचन आयोगले नै फर्जी मत सदर गर्ने वा बदर गर्ने भन्ने प्रष्ट्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

सर्वदलीय बैठकले एमालेको सूर्य चिन्हमा अस्वभाविक ढंगले लगाइएको स्वस्तिक छापबारे आयोले नप्रष्ट्याएको भन्दै विवाद टुंगिन नसकेको काँग्रेस जिल्ला सभापति कृष्ण केसीले हाम्राकुरालाई जानकारी गराए ।

उनले भने, ‘केन्द्रलाई पत्राचार भएको छ । निर्वाचन आयोगले ठूलो स्वस्तिक छाप हानेको मत पत्र मान्ने वा नमान्ने भन्ने निधो गरेर पत्र पठाएपछि मतगणनाबारे टुंगो लाग्ने छ ।’ जिल्ला निर्वाचन कार्यालयले के गर्ने भन्ने विषयमा निधो गर्न सकेन ।

सर्वदलीय बैठकमा काँग्रेससहितका दलहरुले पोखरा लेखनाथको १७ नम्बर वडामा पुनः मतदानको माग गरे । एमालेले मत गणनालाई निरन्तरता दिनु पर्ने तर्क राख्यो ।

विवाद बढ्दै गएपछि निर्वाचन आयोगको निर्णय मान्ने सहमति भएको हो । उता, एमाले कार्यकर्ताले मत गणनास्थल बाहिर मतगणना जारी गर भन्दै चर्को नारावाजी गरेका छन् । उनीहरुले नाराबाजी गर्दै निर्वाचन आयोग होसियार समेत भने ।

शनिबार दिउँसो १४ सय मतगणना भएको परिणाम सार्वजनिक भइसकेपछि एमालेको सूर्य चिन्हमा साविकको भन्दा ठूलो आकारको स्वस्तिक छाप लगाएको एक छापे मत भेटिएपछि मत गणना रोकिएको हो ।

दिउँसो १७ नम्बर वडाको मात्रै मत गणना रोकिएकामा साँझ विवाद बढ्दै गएपछि गणना भइरहेका सबै वडाको गणना रोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ