पोखरा महानगरको १७ नम्बरमा फर्जी मत भेटिएपछि गणना स्थगित
एमालेको सूर्यमा ठूलो छाप र मसी पनि छुट्टै : निर्वाचन अधिकृतको हस्ताक्षर पनि नक्कली
प्रकाशित २०७४ जेठ ६ शनिबार
844
Shares
कास्की । पोखरा महानगरको १७ नम्बर वडामा फर्जीमत भेटिएपछि मतगणना रोकिएको छ । १७ नम्बरको मत गणना हुँदै गर्दा एमालेको सूर्यमा अस्वभाविक ढंगले छाप हानिएको भेटिएपछि सो वडाको मत गणना रोकिएको हो ।
काँग्रेसबाट मेयरका उम्मेद्वार रामजी कुँवरले हाम्राकुरासँग भने, ‘५–७ वटा मतपत्र अश्वभाविक ढंगले हालिएको भेटियो । निर्वाचन अधिकृतको हस्ताक्षर समेत फर्जी भेटियो ।’ फर्जी मत भेटिएपछि रोकिएको मतगणना अनिश्चित भएको छ ।
काँग्रेस जिल्ला सभापति कृष्ण केसीले सूर्यमा हानिएको स्वस्तिक छाप निर्वाचन आयोगले दिएको भन्दा ठूलो साइजको रहेको र मत संकेत गर्ने मसी समेत अर्कै प्रयोग गरेको देखिन आयो, भने । उनले भने, ‘रातको बीचमा यस्तो मत कति गए होलान् ? भटाभट फर्जी मत भेटिएपछि मतगणना रोक्न भनिएको हो ।’ १७ नम्बरको मत गणना के गर्ने भन्ने यकिन भएको छैन । काँग्रेससहित अन्यदलहरुले पुन: मतदानकाे माग गरेका छन् ।
एमाले जिल्ला अध्यक्ष कृष्ण थापाले समेत कुनै मत पत्रमा ठूलो छाप र कुनैमा सानो भेटिएको जानकारी दिए । उनले भने, ‘एमालेलाई भोट हालेको मत पत्रमा यस्तो भेटियो । यो मतसंकेत गरिदिनेहरुले वा सिकाउनेले गरेको हुनु पर्छ भन्ने कुराहरु आइरहेका छन् । दुई खालको छाप लगाइएको मतपत्र भेटिएपछि १७ नम्बरको मत गणना रोकिएको छ ।’ सर्वदलीय बैठक बस्दै छ । के गर्ने भन्ने यकिन भएको छैन ।