मतदान गरेर फर्कँदै गरेका मतदातामाथि प्रहरी निरीक्षकले चलाए गोली, एकको मृत्यु
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
309
Shares
दोलखा । दोलखाको मेलुङ गाउँपालिका –१ पवटीमा मतदान फर्कदै गरेका मतदातालाई प्रहरीले गोली प्रहार गरेको छ ।
प्रहरीको गोली लागेर नकुल भुजेलकाे मृत्यु भएकाे बताइएको छ । उनीसँगै १० जना घाइते भएका र एक जनाकाे अवस्था गम्भीर रहेकाे बताइदै छ । गोली प्रहरी निरीक्षक विनोद सुनुवारले हानेको खुल्न आएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार बुथ कब्जा गर्न आएको एक समूहलाई भगाउन खोज्दा जबरजस्ती गरेपछि गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । यद्यपि डीएसपी रविन कार्कीले एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएकाे र स्थिति नियन्त्रणमा लिन गाेली चलाएकाे बताएका छन् ।
यसअघि पनि दाेलखाका विभिन्न स्थानमा झडप भएका थिए ।
वैतेश्वर
दोलखाको वैतेश्वर गाउँपालिकाको पुतलीकाठ मतदान केन्द्रमा वुथ कव्जा गरेका एमालेका कार्यकर्ता र गुण्डाहरुलाई स्थानिय जनता र मतदान गर्न गएका मतदाताहरुले प्रतिकार गरि भगाइदिएका थिए। प्रहरीले समेत वुथ कब्जा गर्नेहहरुलाई भगाउन ४ रायण्ड हवाइ फायर गरेको थियो।
स्थानियले हतियारधारीहरुसँग प्रतिकार गर्दा केहि हतियारधारी र केहि स्थानिय घाइते भएका छन् । प्रतिकारका क्रममा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । जसमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चरिकोट लगिएको स्थानिय पत्रकार लाल कुमार तामाङले जानकारी दिएका छन्।
बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा पनि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् । उनीहरुको टाउको हात र खुट्टामा चोट रहेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ भने लाल बादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। किरन तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ ।
भुसाफेदा
शैलुङ गाउपालिकाको भुसाफेदामा काँग्रेस र एमालेका कार्यकर्ताबीच तनाव वढ्दै जाँदा मतदान स्थगित भएको छ। दुई पक्षबीच विवाद बढ्दै जाँदा हात हालाहाल भएपछि प्रहरीले हवाइ फायर गरेको थियो। मतदान स्थगित भएपछि सबै पार्टीका प्रतिनिधीहरुलाई राखेर चुनाव सुचारु गराउने प्रयास भइरहेको छ।
क्षेत्रपा
वैतेश्वर गाउँपालिका ८ क्षेत्रपामा एमाले र काँग्रेसबीच झडप भएको छ। झडपपछि मतदान स्थगित भएको छ।
सहरे
अर्काको नाममा मत हाल्न आएका फर्जी व्यक्तिलाई रोक्न खोजेको प्रहरीलाई नै एमाले कार्यकर्ताले कुटेका छन्। एमाले कार्यकर्ताले प्रहरी हवल्दार माथी हातपात गरेपछि दोलखा तामाकोशी गाउँपालिकाको शहरेमा स्थिति तनावग्रस्त भएको छ। प्रहरीले स्थिति तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागि एक महिला घाइते भएकी छन्। उनको देव्रे तिघ्रामा गोली लागेको छ।
विगु आलम्पु
विगु गाउँपालिकाको आलम्पुमा पनि काँग्रेस एमालेका उमेद्वारबीच नै भएको झडप पछि सहमतिमा टुङगिएपछि मतदान शुरु भएको छ।
एमालेका उमेद्वारहरु वुथ छोडे
एमाले दोलखाका अध्यक्ष तथा तामाकोशी गाउँपालिकाका अध्यक्षका उमेद्वारले काँग्रेस र माओवादीले वुथ कब्जा गरेको आरोप लगाउँदै वुथ छोडेर हिडेका छन्। यद्यपी स्थानिय मतदाताहरुले भने मतदान गरिरहेको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्।